काठमाडौं। एक युवकले सामाजिक सञ्जालमा देखिएको आकर्षक अफरलाई विश्वास गर्दा ६५ हजार रुपैयाँ गुमाउनुपर्यो। फेसबुक र टिकटकमा सञ्चालन गरिएको ‘साकिर मोबाइल’ नामको पेजले बजार मूल्यभन्दा निकै कम रकममा आईफोन–१५ प्रो म्याक्स उपलब्ध गराउने विज्ञापन गरेको थियो।
विज्ञापनमा कपिलवस्तुको तौलिहवामा पसल रहेको उल्लेख थियो। मोबाइल खरिद गर्न इच्छुक युवकले सम्पर्क गर्दा विक्रेताले रकम क्यूआरमार्फत पठाए भोलिपल्टसम्म कुरियरबाट मोबाइल पुग्ने आश्वासन दिएका थिए। सोही विश्वासमा उनले ६५ हजार रुपैयाँ ट्रान्सफर गरे। तर रकम पठाएको केही समयपछि सम्पर्क गर्न खोज्दा सम्बन्धित व्यक्ति सम्पर्कविहीन मात्र भएनन्, सामाजिक सञ्जालबाट समेत ब्लक गरिएका थिए।
उक्त घटनापछि प्रहरीमा परेको उजुरीका आधारमा गरिएको अनुसन्धानले ठूलो ठगी सञ्जालको पर्दाफास गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले झापाका दिलीप तामाङ र आशुतोष ओलीलाई पक्राउ गरेको छ। उनीहरूले सामाजिक सञ्जाल प्रयोग गरी मोबाइल बिक्रीको नाममा सर्वसाधारणलाई झुक्याउँदै आएको आरोप छ।
प्रहरी अनुसन्धानअनुसार उनीहरूको मुख्य रणनीति नै अस्वाभाविक रूपमा कम मूल्य राख्नु थियो। महँगो स्मार्टफोनलाई बजार मूल्यभन्दा धेरै कममा बिक्री गरिने भन्दै विज्ञापन तयार गरिन्थ्यो। ग्राहकलाई विश्वस्त बनाउन मोबाइल ‘ब्रान्ड न्यू’ तथा ‘सिल प्याक’ भएको दाबी पनि गरिन्थ्यो।
यति मात्र होइन, काठमाडौंका विभिन्न मोबाइल पसलहरूले राखेका भिडियोहरू डाउनलोड गरी सम्पादन गरेर नयाँ विज्ञापन बनाउने गरिएको थियो। ‘क्यापकट’ एप प्रयोग गरी वास्तविक मूल्य हटाएर निकै कम मूल्य राखिन्थ्यो र त्यसलाई आफ्नै सामग्रीझैँ सामाजिक सञ्जालमा प्रचार गरिन्थ्यो।
अनुसन्धानमा विदेशमा रहेका नेपालीहरू समेत यो जालमा परेको देखिएको छ। आफन्तलाई उपहार पठाउने उद्देश्यले मोबाइल अर्डर गर्नेहरूबाट समेत रकम उठाइएको प्रहरीले जनाएको छ। धेरैजसो अवस्थामा मोबाइल सुरक्षित राख्नुपर्ने बहाना बनाएर अग्रिम भुक्तानी माग्ने गरिएको थियो।
प्रहरीका अनुसार आरोपीहरू बौद्धस्थित एक अपार्टमेन्टमा बस्दै आएका थिए। मासिक ७५ हजार रुपैयाँ भाडा तिर्दै बसोबास गरिरहेका उनीहरूलाई जेठ २६ गते ठमेलको एक होटलबाट नियन्त्रणमा लिइएको हो।
ठगीबाट प्राप्त रकम लुकाउन उनीहरूले अर्को उपाय अपनाएका थिए। आफ्नै बैंक खातामा पैसा नल्याई क्रिप्टो कारोबार र अनलाइन बेटिङमा प्रयोग हुने क्यूआर कोडमार्फत रकम संकलन गर्ने गरिएको थियो। रकम जम्मा भएपछि सम्बन्धित व्यक्तिलाई कमिसन दिएर क्रिप्टोकरेन्सी यूएसडीटी वा अन्य माध्यमबाट पैसा आफ्नो पहुँचमा ल्याइन्थ्यो।
प्रहरीको प्रारम्भिक अनुसन्धानले यो समूहबाट करिब दुई सय जना पीडित बनेको संकेत गरेको छ। पक्राउ परेका व्यक्तिहरूले पनि ठूलो सङ्ख्यामा मानिसबाट रकम उठाएको स्वीकार गरेको बताइएको छ। यद्यपि ठगीबाट प्राप्त रकम हाल उनीहरूको बैंक खातामा फेला परेको छैन।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।