नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले जेठ महिनामा जिल्लाभर भएका सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धानसम्बन्धी गतिविधिको प्रगति विवरण सार्वजनिक गरेको छ। बाँके प्रहरीका अनुसार जेठ महिनामा कुल १५९ वटा मुद्दा दर्ता भएका छन् भने विभिन्न अपराधमा संलग्न १४९ जना प्रतिवादी पक्राउ परेका छन्।
बाँके प्रहरीले सार्वजनिक चासोका ९१ वटा पेन्डिङ मुद्दाको सफल अनुसन्धान गरेको जनाएको छ। फैसला कार्यान्वयनतर्फ ७७ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट १४ वर्ष १ महिना ३ दिन कैद तथा एक करोड ५९ लाख २३ हजार २७४ रुपैयाँ बिगो तथा क्षतिपूर्ति असुल गरिएको प्रहरीले जनाएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ९७ उजुरीमध्ये ९० वटा फर्छ्योट भइसकेका छन् भने ७ वटा उजुरी प्रक्रियामा रहेका छन्। यस अवधिमा ३७ महिला, २९ बालिका, १३ बालक र ६ पुरुष हराएको विवरण दर्ता भएकोमा अधिकांश फेला परिसकेका छन्।
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत ३५ वटा मुद्दा दर्ता गरी ५६ जनालाई पक्राउ गरिएको छ। प्रहरीले ६ किलो ६२० ग्राम अफिम, २ किलोभन्दा बढी गाँजा, ब्राउन सुगर, ट्रामाडोल, नाइट्राजेपामलगायत विभिन्न प्रकारका लागूऔषध बरामद गरेको जनाएको छ।
जेठ महिनामा आत्महत्याका १० घटना दर्ता भएका छन्। तीमध्ये सबै घटना झुण्डिएर आत्महत्या गरेको पाइएको छ। मृतकमध्ये ५ पुरुष र ५ महिला रहेका छन्।
प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार जिल्लामा १९ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। तीव्र गति दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको निष्कर्ष छ।
भन्सार छली नियन्त्रण अभियानमा ५५ लाख ९ हजार २४० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ। यस क्रममा ४ जना पक्राउ परेका छन् भने १५ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ। प्राकृतिक सम्पदा दोहन नियन्त्रणका क्रममा ३१ वटा सवारी साधन नियन्त्रणमा लिएर १ लाख ८७ हजार रुपैयाँ जरिवाना गरिएको छ।
अवैध पशुपंक्षी ओसारपसार नियन्त्रणतर्फ १६० केजी मासु र १९० वटा कुखुरा बरामद गरिएको छ। यसबाट ३ लाख ९६ हजार ७०० रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै अवैध वन पैदावार नियन्त्रण अभियानमा १७।३ क्युफिट काठ बरामद गरी ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अपराध न्यूनीकरण तथा जनचेतना अभिवृद्धिका लागि प्रहरीले जेठ महिनामा ११४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रमबाट ३ हजार ५४० जना लाभान्वित भएका छन्। विद्यालय केन्द्रित ८ वटा कार्यक्रममा ४६४ विद्यार्थी सहभागी भएका थिए।
प्रहरीले कोहलपुर नगरपालिकामा नागरिक सुनुवाइ कार्यक्रमसमेत सञ्चालन गरेको थियो। कार्यक्रममा सहभागी नागरिकहरूले समाजमा बढ्दो लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि समुदाय र प्रहरीबीचको साझेदारीलाई अझ प्रभावकारी बनाउनुपर्ने सुझाव दिएका थिए।
प्रहरीका अनुसार जेठ महिनामा जिल्लाभर १,०२३ पटक पिकेट ड्युटी, ४,२८७ पटक ग्रामीण गस्ती तथा ८०६ पटक सवारी चेकजाँच गरिएको थियो।



