नेभिगेशन
नेपाल प्रहरी

बाँकेमा स्वास्थ्य परीक्षण नगरी लाइसेन्सका लागि मेडिकल रिपोर्ट बेच्ने गिरोह पक्राउ

नेपालगञ्ज । सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न आवश्यक पर्ने मेडिकल परीक्षणमा व्यापक अनियमितता भएको खुलासा भएको छ। स्वास्थ्य परीक्षण नै नगरी सेवाग्राहीलाई मेडिकल रिपोर्ट उपलब्ध गराएको आरोपमा चिकित्सकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा लाइसेन्सका लागि आवश्यक मेडिकल प्रमाणपत्र जारी गर्ने क्रममा अनियमितता भइरहेको सूचनापछि प्रहरीले निगरानी बढाएको थियो।

अनुसन्धानका क्रममा सेवाग्राहीको स्वास्थ्य परीक्षण नगरी चिकित्सकको नामबाट मेडिकल रिपोर्ट जारी गर्ने गरिएको भेटिएको प्रहरीले जनाएको छ। चिकित्सकको हस्ताक्षर र छाप प्रयोग गरी अन्य कर्मचारीले सेवाग्राहीको नाम र ठेगाना भरेर प्रतिव्यक्ति दुई सय रुपैयाँ असुल्दै प्रमाणपत्र वितरण गर्ने गरेको खुलेको छ।

प्रहरीले उक्त कार्यमा संलग्न चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। सार्वजनिक सेवासँग प्रत्यक्ष जोडिएको यस प्रकरणले यातायात कार्यालयको लाइसेन्स वितरण प्रक्रियामाथि नै प्रश्न उठाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेले यस्ता अनियमित गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई थप कडा बनाइने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्