नेभिगेशन
नेपाल प्रहरी

खैरो हेरोइन कारोबारीलाई समात्न प्रहरीले चलायो गोली,३ पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोले लागु औषध कारोबारीमाथि गोली चलाएको छ। ललितपुरको बालकुमारीमा प्रहरीले खैरो हेरोइन कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो।

लागुऔषध नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। घाइते हुनेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ निवासी ३९ वर्षीय किशोर प्रसाद ओझैया रहेका छन्। उनको दाहिने खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार ललितपुर–काठमाडौँ सीमाक्षेत्र अन्तर्गत बालकुमारी पुलमुनि ओझैयालाई नियन्त्रणमा लिन खोज्दा उनले भाग्ने प्रयास गरेपछि गोली चलाइएको थियो। उक्त क्रममा प्रहरीले तीन राउन्ड गोली प्रहार गरेको थियो भने लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुई राउन्ड हवाई फायर गरेको जनाएको छ।

यसै घटनामा कैलालीका २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका–३ का १८ वर्षीय नीरजकुमार मण्डललाई पनि पक्राउ गरिएको छ। मण्डलको साथबाट ३०२ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

गोली लागेर घाइते भएका ओझैयालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार उनी खैरो हेरोइन मगाउने तथा वितरण सञ्जालसँग जोडिएका मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरी अभिलेखअनुसार ओझैया यसअघि नाइट्रोभ्याट सम्बन्धी लागुऔषध मुद्दामा २०७९ पुस ३ गते थानकोटबाट पक्राउ परेका थिए। करिब तीन वर्ष कारागारमा बसेपछि २०८२ पुस १७ गते रिहा भएका उनी पुनः लागुऔषध कारोबारमा सक्रिय भएको आशंकामा निगरानीमा रहेको प्रहरीले जनाएको छ।

त्यसैगरी खैरो हेरोइन लिन बालकुमारी पुगेका अशोक भुल प्रहरी देखेपछि फरार भएका थिए। उनलाई पछि काठमाडौँ महानगरपालिका–१० बुद्धनगर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्