नेभिगेशन
नेपाल प्रहरी

'पूर्वप्रेमिकाको हत्या गरी अरूलाई फसाउने षड्यन्त्र विफल, एसपी अंगुर जिसीको अनुसन्धानबाट खुल्यो रहस्य'

बाँके । पूर्वप्रेमिकाको हत्या गरी आफूविरुद्ध मुद्दा हाल्न भूमिका खेलेका व्यक्तिहरूलाई हत्या अभियोगमा फसाउने योजनामा संलग्न रहेको आरोपमा बाँकेका २६ वर्षीय अजय माउत पक्राउ परेका छन्। प्रहरीले अनुसन्धानका क्रममा घटनाको रहस्योद्घाटन गर्दै हत्या योजनाबद्ध रूपमा गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बैजनाथ गाउँपालिका–५ हिरमनियाका माउत एकै समयमा दुई युवतीसँग प्रेम सम्बन्धमा थिए। उनले उमेर नपुगेकी एक किशोरीलाई भगाएर लगेको घटनापछि परिवारले अपहरण तथा जबर्जस्ती करणी उद्योग सम्बन्धी मुद्दा दर्ता गराएपछि उनी फरार थिए।

प्रहरीका अनुसार सोही घटनाबाट आक्रोशित भएका माउतले आफूविरुद्ध मुद्दा हाल्न सहयोग गरेको ठानेका व्यक्तिहरूलाई गम्भीर अपराधमा फसाउने योजना बनाएका थिए। यसै क्रममा उनले आफ्नी अर्की पूर्वप्रेमिका २० वर्षीया अवसना बानुसँग पुनः सम्पर्क बढाए।

अवसना केही समयअघि अजयसँगको सम्बन्ध तोडेर विवाह गरिसकेकी थिइन्। तर सामाजिक सञ्जालमार्फत पुनः विश्वासमा पारेपछि अजयले उनलाई जेठ २३ गते कैलालीबाट बाँके बोलाएका थिए। परिवारलाई माइती जाने जानकारी दिएर घरबाट निस्किएकी अवसना भने गन्तव्यमा पुगिनन्।

परिवारले सम्पर्कविहीन भएपछि प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो। यसअघि अवसनाले आफन्तलाई आफू अपहरणमा परेको भन्दै केही व्यक्तिका तस्बिर र नामसमेत पठाएकी थिइन्। ती तस्बिरहरू अजयले नै पूर्वतयारीका रूपमा तयार गरेको प्रहरीको दाबी छ।

प्राविधिक अनुसन्धानका क्रममा प्रहरीले जेठ २६ गते अजयलाई पक्राउ गर्यो। पक्राउ परेको दुई दिनपछि बाँकेको चिसापानीस्थित सामुदायिक वनमा एक युवतीको शव फेला परेको थियो। अनुसन्धानबाट उक्त शव अवसना बानुकै रहेको पुष्टि भएको थियो।

प्रहरीका अनुसार अजयले अवसनालाई घुम्न जाने बहानामा जंगलमा लगेर घाँटी थिची हत्या गरेका थिए। घटनालाई अपहरण तथा योजनाबद्ध अपराधजस्तो देखाउन उनले मृतकका हात पछाडिबाट बाँधिदिएका थिए। घटनास्थलमा भेटिएका केही तस्बिर र अन्य प्रमाणले पनि योजनाबद्ध षड्यन्त्रतर्फ संकेत गरेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा अजयले सुरुमा अन्य व्यक्तिमाथि दोष थोपर्ने प्रयास गरे पनि पछि हत्या गरेको स्वीकार गरेको एसपी अंगुर जिसीले बताए। 

प्रहरीका अनुसार आफूलाई फसाएको ठानेका व्यक्तिहरूलाई ज्यान मुद्दामा जेल पठाउने उद्देश्यले उनले निर्दोष अवसनाको हत्या गरेका थिए।

घटनासँग सम्बन्धित सिसिटिभी फुटेज, कल विवरण तथा अन्य प्रमाण प्रहरीले सुरक्षित गरेको छ। हाल अजयमाथि कर्तव्य ज्यान, अपहरण तथा शरीर बन्धक लगायतका मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको नेतृत्वमा गरिएको सूक्ष्म प्राविधिक तथा तथ्यगत अनुसन्धानका कारण घटनाको वास्तविकता बाहिर आएको प्रहरीले जनाएको छ। प्रारम्भिक रूपमा अन्य व्यक्तिलाई दोषी देखाउने प्रयास भए पनि प्रहरीले प्रमाण, कल विवरण, सिसिटिभी फुटेज र घटनास्थलबाट प्राप्त सामग्रीको विश्लेषण गर्दै निर्दोष व्यक्तिहरूलाई जोगाउन सफल भएको थियो।

अनुसन्धानको यही प्रभावकारी कार्यशैलीले अजय माउतले रचेको षड्यन्त्र विफल बनेको र वास्तविक अपराधी कानुनी दायरामा आएको प्रहरीको भनाइ छ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्