नेभिगेशन
नेपाली सेना

त्रिवेणी सामुदायिक सर्पदंश उपचार केन्द्रमा खानेपानी धारा र चौतारा निर्माण, सेवाग्राहीलाई ठूलो राहत

पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकास्थित गोरखदल गण त्रिवेणी बेसमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रमा खानेपानीको सुविधा तथा विश्रामका लागि चौतारा निर्माण गरिएको छ।

सुस्ता गाउँपालिका–२, जमुनाबारी निवासी समाजसेवी ज्ञानप्रसाद पाठक (सन्तोष) को व्यक्तिगत आर्थिक सहयोगमा खानेपानी धारा जडान तथा चौतारा निर्माण कार्य सम्पन्न भएको हो।

तराई क्षेत्रमा वर्षायाम सुरु भएसँगै सर्पदंशका बिरामीको संख्या बढ्ने गर्दछ। यस्तो अवस्थामा उपचारका लागि टाढा–टाढाबाट आउने बिरामी, उनीहरूका कुरुवा तथा दिनरात सेवामा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई पिउने पानीको अभाव नहोस् र बिरामीका आफन्तलाई विश्राम गर्न सहज होस् भन्ने उद्देश्यले पाठकले आफ्नै खर्चमा उक्त पूर्वाधार निर्माण गराएका हुन्।

आइतबार औपचारिक रूपमा खानेपानी धारा र चौतारा निर्माण कार्य सम्पन्न गरी प्रयोगमा ल्याइएको छ। यस क्षेत्रमा सर्पदंशका बिरामीका लागि वरदान साबित हुँदै आएको उक्त उपचार केन्द्रमा खानेपानी र विश्रामस्थलको व्यवस्था भएपछि उपचारका लागि आउने सेवाग्राही तथा कुरुवालाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ।

स्थानीयवासीले समाजसेवी पाठकको यस परोपकारी कार्यको खुलेर प्रशंसा गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्