नेभिगेशन
नेपाली सेना

चीन गए प्रधान सेनापति अशोकराज सिग्देल

काठमाडौँ । नेपाली सेना प्रमुख प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेका छन् । चीनको निमन्त्रणामा उनी एक साताका लागि सिग्देल चीन गएका हुन् ।

बेइजिङ प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीले प्रधान सेनापति सिग्देललाई बिदाइ गरेका थिए ।

भ्रमणका क्रममा प्रधान सेनापति सिग्देलले चीनमा आयोजना हुने चाइना फोरम कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, उनले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

प्रधान सेनापतिको चीन भ्रमणबाट नेपाल र चीनबीचको सैनिक सम्बन्ध थप सुदृढ हुने नेपाली सेनाको विश्वास छ । भ्रमणले सैनिक कूटनीतिमार्फत नेपालको परराष्ट्र नीतिमा समेत योगदान पुग्ने सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार प्रधान सेनापति सिग्देल असोज ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्