नेभिगेशन
नेपाल प्रहरी

वन्यजन्तु मुद्दामा जेलबाट भागेका कैदी झण्डै १ वर्षपछि बन्दुकसहित पक्राउ

काठमाडौं ।  प्रहरीले वन्यजन्तु सम्बन्धी मुद्दामा सजाय भोग्दै गर्दा कारागारबाट फरार भएका एक व्यक्तिलाई झण्डै एक वर्षपछि भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राप्ती नगरपालिका–११, थाकलटारका ४५ वर्षीय आईतसिंह लामालाई इलाका प्रहरी भण्डाराबाट खटिएको प्रहरी टोलीले उनकै घर नजिकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार लामा गत वर्ष भरतपुर कारागारबाट फरार भएका थिए। उनी एकसिंगे गैँडा मारिएको घटनासँग सम्बन्धित वन्यजन्तु कसुरमा अदालतबाट दोषी ठहर भई १५ वर्ष कैद सजाय तथा १० लाख रुपैयाँ जरिवाना तोकिएका व्यक्ति हुन्। उक्त सजाय कार्यान्वयनका क्रममा उनी भरतपुर कारागारमा रहेका बेला फरार भएका थिए।

पक्राउका क्रममा लामाको साथबाट एक थान भरुवा बन्दुक समेत बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्