नेभिगेशन
नेपाल प्रहरी

विदेशबाट फर्किने नेपालीलाई प्रहरीको आग्रह: सुन तस्कर र दलालको प्रलोभनमा नपर्नुहोस्

काठमाडौं । नेपाल प्रहरीले विदेशबाट नेपाल फर्किने नेपाली नागरिकलाई सुन तस्करी तथा अवैध ओसारपसारमा संलग्न दलाल र अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न विशेष आग्रह गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरले मंगलबार सूचना जारी गर्दै पछिल्ला दिनमा दुबई, कतारलगायत विभिन्न मुलुकबाट श्रम स्वीकृतिमा काम गरी फर्किने नेपालीलाई आर्थिक प्रलोभनमा पारेर सुनका सिक्री, बहुमूल्य धातु तथा अन्य सामान नेपाल ल्याउन लगाउने प्रयास बढेको जनाएको छ।

प्रहरीका अनुसार यस्ता वस्तु नेपाल ल्याउने क्रममा विमानस्थलमा कानुनबमोजिम जाँच हुँदा अवैध रूपमा सुन ओसारपसार गरेको पुष्टि भए कानुनी कारबाहीको सामना गर्नुपर्ने हुन्छ। त्यसैले अपरिचित व्यक्ति, दलाल वा सुन तस्करको कुनै पनि प्रलोभनमा नपरी आफ्नो नाममा अरूको सामान नल्याउन आग्रह गरिएको छ।

प्रहरीले वास्तविक विवरण थाहा नभएको झोला, ब्याग वा अन्य सामान आफ्नो जिम्मामा नलिन, खरिद बिल वा कागजात भएकै भरमा कानुनी जिम्मेवारीबाट मुक्त भइन्छ भन्ने भ्रममा नपर्न तथा सानो लापरबाहीले ठूलो कानुनी समस्या निम्त्याउन सक्ने चेतावनी दिएको छ।

साथै, विमानस्थलमा शंकास्पद गतिविधि वा प्रलोभनसम्बन्धी कुनै जानकारी भए तत्काल सुरक्षा निकायलाई सूचना दिन पनि नेपाल प्रहरीले सबै यात्रुसँग अनुरोध गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्