नेभिगेशन
नेपाल प्रहरी

पत्रकारको परिचयपत्रको आडमा लागूऔषध तस्करी, ४४ ग्रामबढी खैरो हेरोइनसहित तीनजना पक्राउ

काठमाडौं । पत्रकारको परिचयपत्र प्रयोग गरी लागुऔषध ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा साउन २० गते सिन्धुलीको दुधौली नगरपालिका–१ क्षेत्रमा सिराहाको मिर्चैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा १६ च ७८५९ नम्बरको रेनो कार रोकी खानतलासी गरेको थियो।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार कारको गियर बक्सभित्र विशेष रूपमा लुकाइराखिएको ४४ ग्राम ३४० मिलिग्राम खैरो हेरोइन बरामद भएपछि कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको थियो।

पक्राउ पर्नेमा सिराहाको लक्ष्मीपुर गाउँपालिका–२ का २६ वर्षीय उमेश कुमार यादव, लहान नगरपालिका–१० का ३० वर्षीय रमेश कुमार राम र लक्ष्मीपुर गाउँपालिका–२ का २५ वर्षीय गुल्सन प्रसाद साह रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका चालक उमेश कुमार यादवको साथबाट ‘जनजागरण खबर’ नामक सञ्चारमाध्यमको संवाददाताको परिचयपत्रसमेत फेला परेको छ। उक्त परिचयपत्र लागुऔषध ओसारपसारमा प्रयोग गर्न खोजिएको हो वा होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको एसपी रेग्मीले बताए।

घटनास्थलबाट प्रहरीले चार थान मोबाइल फोन, लागुऔषध ओसारपसारमा प्रयोग गरिएको बा १६ च ७८५९ नम्बरको कार तथा बरामद खैरो हेरोइन नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा उक्त कार काठमाडौंस्थित हुलास फाइनान्सबाट किस्ताबन्दीमा खरिद गरिएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय डकाहा, सिन्धुली पठाइएको छ। उनीहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्