काठमाडौँ । रसुवामा निर्माणको अन्तिम चरणमा पुगेको लाङटाङ खोला जलविद्युत् आयोजना भोटेकोसी नदीमा आएको भीषण बाढीका कारण ठूलो क्षतिग्रस्त भएको छ। बाढीले आयोजनाको पावर हाउससहितका महत्वपूर्ण संरचना बगाएको छ भने आयोजनास्थलमा कार्यरत करिब ६० जना कर्मचारी तथा मजदुर सम्पर्कविहीन भएका छन्।
बुधबार बिहान चीनको तिब्बततर्फबाट आएको बाढीले भोटेकोसी नदीको बहाव अस्वाभाविक रूपमा बढेपछि आयोजना क्षेत्रमा व्यापक क्षति भएको हो। निर्माण कम्पनी मल्टी इनर्जी प्रालिका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईका अनुसार बाढी आउँदा कामदारहरू सुरुङभित्र कङ्क्रिट ढलानको काममा व्यस्त थिए।
आयोजनामा कम्पनीका इञ्जिनियर, ओभरसियर, सुरक्षा गार्ड तथा भान्छेसहित २५ जना र पेटी कन्ट्र्याक्टरमार्फत करिब ३५ जना मजदुर कार्यरत थिए। उनीहरू बिहानदेखि सम्पर्कमा आउन नसकेको भट्टराईले जानकारी दिए।
आयोजना निर्माण अन्तिम चरणमा पुगेको र करिब एक सातापछि विद्युत् उत्पादन सुरु गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी भइरहेको थियो। केही दिनअघि मात्रै आफू आयोजना क्षेत्रमा पुगेर फर्किएको उल्लेख गर्दै भट्टराईले मानवीय क्षतिको सम्भावनाले आफूहरू गम्भीर चिन्तामा रहेको बताए।
उनका अनुसार बाढीको वेग यति शक्तिशाली थियो कि आयोजनाको पावर हाउसको संरचना नै नरहने गरी क्षति पुगेको छ। नदीको पानी सामान्य जलसतहभन्दा करिब १ सय २५ मिटर माथिसम्म पुगेको उनको भनाइ छ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का सचिवसमेत रहेका भट्टराईले घटनालाई सामान्य बाढीका रूपमा लिन नसकिने बताए। उनले यसलाई ठूलो प्राकृतिक विपत्तिको संज्ञा दिँदै अहिले आयोजनाको क्षतिभन्दा पनि सम्पर्कविहीन कर्मचारी तथा मजदुरको खोजी र उद्धारलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए।
‘आयोजना पुनः बनाउन सकिन्छ, तर सम्पर्कविहीन भएका मानिसको अवस्था पत्ता लगाउनु अहिलेको सबैभन्दा ठूलो चिन्ता हो,’ भट्टराईले भने।बाढीका कारण आयोजना पूर्णरूपमा प्रभावित भएपछि विद्युत् उत्पादन सुरु गर्ने तयारीसमेत अनिश्चित बनेको छ।