नेभिगेशन
सुरक्षा अपडेट

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो

काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण विभिन्न जिल्लामा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। सशस्त्र प्रहरी बल नेपालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढीपछि खोज तथा उद्धारका क्रममा विभिन्न जिल्लाबाट ७२ जनाको शव फेला परेको हो।

सशस्त्र प्रहरीका अनुसार सबैभन्दा धेरै शव चितवनमा भेटिएका छन्। त्यहाँ २८ जनाको शव फेला परेको छ। मृतकमध्ये पाँच महिला, १३ पुरुष र १० जनाको लैंगिक पहिचान खुल्न सकेको छैन।

धादिङमा १८ जनाको शव फेला परेको छ। तीमध्ये ११ महिला, पाँच पुरुष र दुई जनाको पहिचान तथा लैंगिक विवरण खुल्न बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी नुवाकोटमा ११ जनाको मृत्यु पुष्टि भएको छ। त्यहाँ भेटिएका शवमध्ये पाँच महिला र छ पुरुष छन्।

गोरखामा नौ जनाको शव फेला परेको छ। मृतकमध्ये दुई महिला, चार पुरुष र तीन जनाको पहिचान खुल्न सकेको छैन।तनहुँमा चार जनाको शव भेटिएको छ। तीमध्ये दुई पुरुष, एक बालिका र एक बालक रहेका छन्।

यसैगरी पूर्वी नवलपरासीमा एक बालिकाको तथा रसुवामा एक पुरुषको शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।बाढी प्रभावित क्षेत्रमा बेपत्ता तथा प्रभावितको खोजी र उद्धार कार्य अझै जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्