नेभिगेशन
सुरक्षा अपडेट

रसुवा बाढीमा ३४१ विदेशी पर्यटक सम्पर्कविहीन, भारतीय मात्रै १३३ जना

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि ठूलो संख्यामा विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा रहेका ४०३ पर्यटक अझै सम्पर्कमा आउन सकेका छैनन्, जसमा विदेशी पर्यटकको संख्या ३४१ रहेको छ।

सम्पर्कविहीनमध्ये ६२ जना नेपाली पर्यटक छन्। बोर्डका अनुसार कुल ४०३ मध्ये २०३ पुरुष र २०० महिला रहेका छन्।

विदेशी पर्यटकमध्ये सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको छ। भारतका मात्रै १३३ पर्यटक सम्पर्कविहीन रहेको पर्यटन बोर्डले जनाएको छ। त्यसपछि अमेरिकाका ४७, अस्ट्रेलियाका ३४ र बेलायतका ३३ पर्यटक सम्पर्कविहीन छन्।

त्यस्तै क्यानडाका २४, मलेसियाका १९, युक्रेनका सात तथा दक्षिण अफ्रिकाका छ पर्यटक सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ।

यसैगरी सिंगापुरका छ, जापान र न्यूजिल्यान्डका पाँच–पाँच, जर्मनीका चार, फ्रान्सका तीन तथा स्पेनका दुई पर्यटकसँग सम्पर्क हुन नसकेको पर्यटन बोर्डले जनाएको छ।

रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीपछि ठूलो संख्यामा पर्यटक सम्पर्कविहीन भएपछि उनीहरूको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखिएको छ। प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको संख्या तथा विवरण थप अद्यावधिक हुन सक्ने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्