नेभिगेशन
सुरक्षा अपडेट

रसुवा बाढी: गोसाईंकुण्ड हिँडेका तीर्थयात्री बोकेका २० बस सम्पर्कविहीन

काठमाडौँ । रसुवामा भोटेकोसी नदीमा आएको भीषण बाढीपहिरोपछि जनैपूर्णिमाको अवसरमा गोसाईंकुण्ड दर्शनका लागि हिँडेका तीर्थयात्री बोकेका करिब १८ देखि २० वटा बस सम्पर्कविहीन भएका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाका अनुसार काठमाडौँबाट रिजर्भमा गोसाईंकुण्डतर्फ गएका ती बसहरू रसुवागढी सडकखण्डमा पुगेपछि सम्पर्कविहीन भएका हुन्। ती बसहरू अरनिको यातायात कम्पनीमार्फत सञ्चालनमा रहेका थिए।

बाढीपछि सडक तथा सञ्चार सम्पर्क अवरुद्ध भएकाले बसमा सवार यात्रुहरूको अवस्था तत्काल यकिन गर्न नसकिएको महासंघले जनाएको छ। ती बसका तीन जना कर्मचारी मात्र सम्पर्कमा आएको अपुष्ट जानकारी प्राप्त भएको र बाँकी यात्रु तथा चालक–सहचालकको अवस्था अज्ञात रहेको अध्यक्ष सिटौलाले बताए।

जनैपूर्णिमाका अवसरमा गोसाईंकुण्डमा ठूलो संख्यामा तीर्थयात्री जाने भएकाले सम्पर्कविहीन बसमा कति यात्रु सवार थिए भन्ने विवरणसमेत संकलन भइरहेको महासंघले जनाएको छ।

फसेका तीर्थयात्री तथा अन्य यात्रुको अवस्था बुझ्न महासंघले बुधबार २५ देखि ३० जनाको टोली घटनास्थलतर्फ पठाएको थियो। तर, बाटोमै सडक अवरुद्ध भएपछि टोली गन्तव्यसम्म पुग्न नसकी फर्किएको थियो।

महासंघले तीर्थयात्री बोकेका बस तथा यात्रुको खोजी र उद्धारलाई तत्काल प्राथमिकता दिन सरकार तथा सुरक्षा निकायसँग आग्रह गरेको छ। साथै, बाढीपहिरो प्रभावित क्षेत्रमा जोखिम मोलेर सवारीसाधन नचलाउन चालक तथा व्यवसायीलाई समेत अपिल गरिएको छ।

सम्पर्कविहीन तीर्थयात्रीको अवस्था सार्वजनिक नहुँदा उनीहरूका परिवारजन थप चिन्तित बनेका छन्। महासंघले प्रभावित क्षेत्रबाट थप विवरण संकलन भइरहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्