नेभिगेशन
सुरक्षा अपडेट

त्रिशूली थ्री–ए सुरुङमा फसेकाहरुको उद्धारका लागि सुरक्षाकर्मीले थाले ‘ड्रिलिङ’

काठमाडौं । त्रिशूली ‘थ्रि–ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र बाढीका कारण फसेका नागरिकको खोजी तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संयुक्त टोलीले ‘ड्रिलिङ’ सुरु गरेको छ।

सुरुङको बाहिरी भागसम्म पुग्ने सम्भावित स्थान पहिचान गर्ने उद्देश्यले ड्रिलिङ थालिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भदौ १० गते आएको बाढीपछि सुरुङभित्र नागरिक फसेको खबर आएपछि शुक्रबारदेखि सुरक्षा निकायको संयुक्त टोली उद्धारमा परिचालित भएको हो।

उद्धार तथा खोजी कार्यलाई तीव्र बनाउन नेपाली सेनाका ६२ जनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी गरी ८२ जनाको टोली निरन्तर प्रभावित क्षेत्रमा खटिएको छ। टोलीले सुरुङ खोतल्ने, सम्भावित स्थान पहिचान गर्ने तथा उद्धारका अन्य प्रयासलाई अघि बढाइरहेको छ।

बाढी तथा पहिरोबाट प्रभावित जिल्लाहरूमा नेपाली सेनाका सात हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको सेनाले जनाएको छ। उनीहरूले घाइतेको खोज तथा उद्धार, प्राथमिक उपचार, राहत सामग्री वितरण र शव व्यवस्थापनलगायतका काम गरिरहेका छन्।

तर, त्रिशूली क्षेत्रमा मौसम प्रतिकूल रहँदा सुरुङभित्रको उद्धार अभियान थप जटिल बनेको छ। सुरुङको अवस्थाबारे यकिन जानकारी लिन तथा उद्धारको पहुँच विस्तार गर्न सुरक्षा निकायले उपलब्ध स्रोतसाधन प्रयोग गरिरहेको छ।

यसैबीच, उद्धारमा सहयोग गर्न भारतबाट आएको विशेषज्ञ टोली पनि त्रिशूली क्षेत्रमा पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक रेकी गरिसकेको र आवश्यकता पहिचान गरी थप उद्धार कार्य अघि बढाउने तयारी गरेको जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्