नेभिगेशन
सुरक्षा अपडेट

त्रिशूलीको भेलले सडक काटेपछि कृष्णभीरमा पहिरो, बीच बाटोमै रोकिए गाडी

काठमाडौँ । त्रिशूली नदीको तीव्र कटानले सडकको केही भाग भासिएपछि धादिङको कृष्णभीरमा पहिरो खसेको छ। पहिरोका कारण पृथ्वी राजमार्ग दुवैतर्फ अवरुद्ध हुँदा काठमाडौँ भित्रिने र बाहिरिने सवारीसाधन बीच बाटोमै रोकिएका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार लगातारको वर्षापछि नदीको बहाव बढ्दा राजमार्गको केही भाग कटानमा परेको थियो। सडक कमजोर बनेपछि कृष्णभीर क्षेत्रमा पहिरो खसेर यातायात पूर्णरूपमा ठप्प भएको हो।

राजमार्ग बन्द भएपछि पृथ्वी राजमार्ग हुँदै विभिन्न गन्तव्यतर्फ जाने यात्रुवाहक बस, मालवाहक ट्रक तथा निजी सवारीसाधन काठमाडौँमै रोकिएका छन्। नयाँबसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक पङ्कज मल्लले राजमार्ग हुँदै चल्ने सवारीसाधनलाई नयाँबसपार्कमै व्यवस्थापन गरिएको जानकारी दिए।

पहिरो खसेको क्षेत्रमा सडक थप भासिन सक्ने जोखिम रहेकाले तत्काल आवागमन खुलाउन चुनौती देखिएको प्रहरीले जनाएको छ। सडक खुलाउने प्रयास तथा अवस्थाको निरीक्षण भइरहेको बताइएको छ।

बाढी र पहिरोका कारण रसुवालगायत विभिन्न जिल्लाका प्रमुख सडकखण्डमा समेत यातायात प्रभावित भएको छ। प्रहरीले यात्रु तथा चालकलाई यात्रा अघि सडकको पछिल्लो अवस्था बुझ्न, जोखिमयुक्त क्षेत्रमा नजान र सम्भावित अवरोधका लागि वैकल्पिक मार्गको तयारी गर्न आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्