नेभिगेशन
नेपाल प्रहरी

डकैती र ज्यान मार्ने उद्योगका फरार प्रतिवादी प्रहरीको नियन्त्रणमा

काठमाडौं । डकैती, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना तथा संगठित अपराधसम्बन्धी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको बिदेह नगरपालिका–५ झिझा टोलका ४० वर्षीय बद्री भन्ने अजय पासवान रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विशेष सूचनाका आधारमा आइतबार राति सिरहा नगरपालिका–६ स्थित कमला खोलाको आसपास हिँडडुल गरिरहेको अवस्थामा उनलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार २०८२ मंसिर २ गते कल्याणपुर नगरपालिका–१२ बेल्हा टोलस्थित मुकेशकुमार सिंहको घरमा डकैती गर्ने क्रममा पासवानसहित १२ जनाको समूहले वीरेन्द्र महतो र अनिलकुमार महतोलाई गोली प्रहार गरी घाइते बनाएको थियो ।

डकैतीका क्रममा उक्त समूहले घरबाट नगद तथा जिन्सी गरी ९ लाख ७३ हजार ६५० रुपैयाँ बराबरको धनमाल लुटेर फरार भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय सिरहाबाट अनुसन्धान पूरा गरी जिल्ला अदालतमा मुद्दा चलिरहेको अवस्थामा उनीहरू फरार भएका थिए । फरार प्रतिवादीमध्ये पासवान पक्राउ परेका छन् भने अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पासवानलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत सिरहामा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्