नेभिगेशन
नेपाल प्रहरी

तस्करीको सामान रोक्न खोज्दा प्रहरीमाथि कुटपिट, दुई प्रहरी घाइते, ३ जना पक्राउ

कैलाली।  कैलालीको भजनीमा भारतबाट ल्याइँदै गरेको तस्करीको सामान रोक्न खोज्दा ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट भएको छ। कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

भजनी नगरपालिका–३ ठेकीपुरचोकमा घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। भारतबाट मोटरसाइकलमा सामान ल्याउँदै गरेका व्यक्तिलाई प्रहरीले जाँचका लागि रोक्न खोजेपछि उनीहरूले प्रहरी कर्मचारीमाथि हातपात गरेका थिए।

कुटपिटमा संलग्न भएको आरोपमा भजनी–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउँद र गम्भीर साउँद पक्राउ परेका छन्। उनीहरूलाई घटनाकै दिन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रहरीमाथि कुटपिट गरेपछि आरोपितहरू मोटरसाइकलमा रहेको सामान लिएर फरार भएका थिए। त्यसैले भारतबाट ल्याइएको भनिएको सामान प्रहरीले नियन्त्रणमा लिन सकेन।

घटनामा प्रयोग भएको आशंकामा प्रहरीले दुईवटा मोटरसाइकल भने नियन्त्रणमा लिएको छ। से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटना बिहिबारको हो।

कुटपिटबाट इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशी घाइते भएका छन्। दुवैको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरिएको थियो। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपितहरूले लिएर गएको सामान हालसम्म फेला परेको छैन। भारतबाट ल्याइएको भनिएको उक्त सामान के थियो भन्ने विषय पनि अनुसन्धानकै क्रममा रहेको डीएसपी तिमिल्सिनाले बताए।

‘कुटपिट गरेर भागेकाले सामान समात्न सकिएन, अनुसन्धान भइरहेको छ,’ उनले भने। पक्राउ परेका तीन जनामाथि कुटपिट तथा अवैध सामान ओसारपसारसँग सम्बन्धित विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्