नेभिगेशन
नेपाल प्रहरी

बन्दागोभीले छोपेर लैजाँदै गरेको साढे २ टनभन्दा बढी गाँजा बरामद, ट्रक नियन्त्रणमा, २ पक्राउ 

सुनसरी। सुनसरीको इनरुवा नगरपालिका–३ सखुवागाछीबाट प्रहरीले साढे २ टनभन्दा बढी गाँजा बरामद गरेको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको ट्रकसहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

सोमबार राति सखुवागाछी चोकमा प्रहरीले चेकजाँच गरिरहेको थियो। सो क्रममा राति ११ः५० बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.७ ख १८२५ नम्बरको ट्रक रोकेर जाँच गर्दा बन्दागोभीले छोपेर राखिएको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

ट्रकभित्र ८३ वटा बोरामा लुकाएर राखिएको २ हजार ५ सय ६६ किलो ५ सय ६० ग्राम गाँजा बरामद भएको हो।

गाँजासहित प्रहरीले ट्रक चालक धनकुटाको शहीदभूमि गाउँपालिका–२ का ३३ वर्षीय राजु राई र १८ वर्षीय सहचालक सन्दिप राईलाई नियन्त्रणमा लिएको छ।

उनीहरूलाई नियन्त्रणमा लिएर गाँजा ओसारपसारमा संलग्नता र घटनासँग जोडिएका अन्य पक्षबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्