रुपन्देही । रुपन्देही जिल्ला अदालतमा आज पूर्व गृहमन्त्री रवि लामिछाने उपस्थित हुँदैछन् । बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा लामिछाने बयानका लागि आज अदालतमा उपस्थित हुन लागेका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले पूरक अनुसन्धान गरेर मुद्दा चलाउने राय लिएपछि रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता भएको थियो । लामिछाने मंगलबार नै रुपन्देही आइसकेका छन्।
उक्त मुद्दामा लामिछानेविरुद्ध व्यक्तिगत रूपमा २ करोड र गोर्खा मिडियाका नाममा (सामूहिक) २ करोड १५ लाख २८ हजार गरी ४ करोड १५ लाख २८ हजार रुपैयाँको बिगो माग दाबी गरिएको छ ।
यसअघि लामिछाने पोखराको सुर्यदर्शन सहकारी अपचलन मुद्दामा ६५ लाख र काठमाडौंस्थित स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा ६० लाख रुपैयाँ धरौटी तिरेर रिहा भएका थिए।