काठमाडौं । नेपाल सरकारका एक कर्मचारीलाई 'हनी ट्रयाप' मा परेर लाखौं रुपैयाँ असुली गरेको आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ।
हनी ट्रयाप' मा पार्ने कैलाली घर भएर हाल काठमाडौंको कालोपुल बस्ने ३४ वर्षीया ममता तामाङ र भक्तपुर घर भएर हाँडीगाउँ बस्ने ३४ वर्षीया आँचल श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यले जानकारी दिएका छन् ।
अपराध अनुसन्धान कार्यालयका एसपी आचार्यले दिएको जानकारी अनुसार १ महिनाअघि उनलाई सामाजिक सञ्जालमा आँचलको फ्रेन्ड रिक्वेस्ट आएको थियो। उनले रिक्वेस्ट एसेप्ट गरे। त्यसको एक हप्तापछि उनीहरूबीच कुराकानी सामान्य हुँदै भेटघाट गर्नेसम्मको योजना बनेको एसपी आचार्यले बताए।
एसपी आचार्यले भने-"एक दिन त आँचलले कफी पिउन बोलाइन्। योजनाअनुसार काठमाडौंको ठमेल नजिक एक रेस्टुरेन्टमा उनीहरूले कफी खाएर फर्किए।" त्यसरी आँचलले पुरूष सँगको घनिष्टता बढाइरहेका थिए। एक हप्तापछि फेरि आँचलले बोलाइन्। त्यस दिन मदिरा पिउने भनेर आँचलले एउटा होटलमा बोलाइन्।
होटलमा भएको भेटघाट पुरूषले आफ्नो होसै नहुने गरी मदिरा पिए। भोलिपल्ट होसमा आउँदा आँचल त्यहाँबाट हिँडिसकेकी थिइन्।‘त्यहाँ पीडितले होस हराउने गरी मदिरा पिएछन्। भोलिपल्ट बिहान उनले होटलमा आफूलाई एक्लै पाएछन्,' एसपी आचार्यले बताए ।
त्यस दिनदेखि आँचल सम्पर्कमा आएकी थिइनन्। तर एक हप्तापछि मेसेन्जरमा आएको तस्बिर र भिडिओले ती पुरूष झस्किए। तस्बिर र भिडिओमा उनी आँचलसँगै थिए तर नग्न अवस्थामा।
आफ्नो त्यस्तो फोटोरभिडिओ देखेपछि उनको होश उड्यो। त्यो भिडिओ र फोटो ममताले खिचेर पीडितलाई पठाएका थिए।प्रहरीको अनुसन्धानअनुसार पीडित पुरूषलाई एक जना साथीले नै आँचलसँग सम्पर्क गराइदिएका थिए। ती साथीले पनि अर्का एक जना पुरूषमार्फत आँचलको सम्पर्क जोडिदिएका हुन्।
‘फोटो भिडिओ आएपछि पीडितले आफ्नो त्यही साथीसँग कुरा गरे। तर उनीहरूले उल्टो घर र जग्गाजमिन मागेका रहेछन्।नदिए बलात्कार कसुरमा फसाउनेसम्मको ब्याकमेलिङ गरेको पाइयो,’ आचार्यले भने।
त्यसपछि मात्रै पीडित प्रहरीकहाँ पुगेका थिए।पीडित पुरूषले आँचललाई अपराध अनुसन्धानकै सल्लाहमा सुरूमा ५ लाख दिने र बाँकी पछि दिने सहमति समेत गरिएको थियो।
सहमतिअनुसार पीडितले आँचललाई बुधबार हनुमानथानमा चेक दिएका थिए। पछि प्रहरीले उक्त चेकसहित ममता र आँचललाई पक्राउ गरेको हो। प्रहरीले उनीहरूसँगै अरू दुई जनाको पनि खोजी गरिरहेको छ।
उक्त गिरोहले अरू पनि फसाएको हुनसक्ने प्रहरीको बुझाइ छ। अपराध अनुसन्धान कार्यालयले उनीहरूको बैंक स्टेटमेन्ट पनि केलाएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको एसपी आचार्यले जानकारी दिएका छन्।