नेभिगेशन
अदालत

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित मिडियाकर्मीविरुद्ध विशेष अदालतमा मुद्दा  दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा विभिन्न निर्माण ठेक्काको विज्ञापन प्रकाशनमा अनियमितता गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित विभिन्न विज्ञापन एजेन्सीका सञ्चालकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले सो गाउँपालिकाको आर्थिक वर्ष २०७९-८० मा चार वटा बोलपत्रको आह्वान र खरिद आशयको सूचना सार्वजनिक खरिद ऐनअनुसार राष्ट्रिय स्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा अनियमितता भएको जनाएको छ।

आयोगको आरोपअनुसार, बोलपत्र आह्वानको सूचना लुकाउने उद्देश्यले सार्वजनिक रूपमा प्रकाशन नगरी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना एक प्रति मात्र प्रकाशित गरिएको पाइएको छ। प्रेस काउन्सिल नेपालको २०७९ चैत २३ गतेको पत्रअनुसार उक्त बोलपत्रको सूचना प्रकाशित नभएको पाइएको छ। खरिद आशयको सूचना सार्वजनिक तवरमा वितरण प्रयोजनका लागि प्रकाशित नै नभएको देखिएको अख्तियारको ठहर छ।

पत्रिका व्यवस्थापन प्रणालीको पीडीएफ अभिलेखमा समेत कुनै सूचना प्रकाशित भएको नदेखिएको आयोगले जनाएको छ। बोलपत्र आह्वानको सूचना 'सौर्य दैनिक'मा एक-एक प्रति मात्रै प्रकाशन गरे गराएको, प्रेस काउन्सिलमा बुझाइएको विवरणमा समेत उल्लेख नभएको र पीडीएफमा समेत नभेटिएको आरोप अख्तियारको छ। आयोगले सार्वजनिक तवरमा वितरण नगर्ने गरी एक-एक प्रति प्रकाशित गरी बदनियत राखेको ठहर गरेको छ।

अख्तियारले तिलाठी कोईलाडी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रकुमार यादव, सहलेखापाल शत्रोहन दास, टाइम्स रिपब्लिक मिडियाका संस्थापक भूषणकुमार सिंह, डच मिडियाका निर्देशक रवि अर्याल, र प्रभाव दैनिकका कृष्णबहादुर कार्कीविरुद्ध मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले यी पाँचै जनाविरुद्ध तीन लाख १६ हजार चार सय रुपैयाँ बराबरको बिगो माग दाबी गर्दै कैद सजायको मागसहित मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्