नेभिगेशन
अदालत

सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक सुनिलसहित ६ जनाविरुद्ध पौने १६ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा विवरण तयारी कम्प्युटर सामग्री खरिदमा पौने  १६ करोड बढीको भ्रष्टाचार गरेको आरोपमा  राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित ६ जनाविरुद्ध  भ्रष्टाचार मुद्दा दायर भएको छ ।

गैरकानुनी लाभ लिएको भन्दै अख्तियारले पौडेलसहित ६ जनाविरूद्ध  आज विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।

गुणस्तरहिन प्रोसेसर रहको स्टोरेज आपूर्ति गरी झुटा कागजातहरू पेस गरेर पौने १६  करोड रुपैयाँ बढी  भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि छ। 

केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित निर्देशक सफल श्रेष्ठ, सहायक निर्देशक रमेश पोखरेल, कम्प्युटर इन्जिनियर रामशरण गायक, लेखा अधिकृत निम बहादुर वलीसहित ठेक्का पाएको वर्ल्ड डिस्ट्रिव्युसन नेपाल प्रालि, कान्तिपथ र कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक अरुण श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आव ०७६-७७ मा उच्च कम्प्युटिङ पूर्वाधारको आपूर्ति, ढुवानी, जडान तथा परीक्षण सञ्चालनका लागि भन्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रबाट भएको ठेक्का सम्झौतामा १५ करोड ८८ लाख ५० हजार भ्रष्टाचार भएको ठहर गर्दै सोही बराबरको बिगो कायम गरेर तत्कालीन कार्यकारी निर्देशक पौडेलसहित ६ जनालाई भ्रष्टचार निवारण ऐन २०५९ अनुसार कारबाही गर्न अख्तियारको माग रहेको छ।

 

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्