नेभिगेशन
अदालत

चक्रे मिलनलाई ३० हजार धरौटीमा रिहा गर्न आदेश, ज्यान मार्ने उद्योग मुद्दामा भक्तपुर लगिने

काठमाडौं । काठमाडौं जिल्ला अदालतले गुन्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) लाई ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ। काठमाडौं अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले चक्रे मिलनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

चक्रेलाई काठमाडौं अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएपनि भक्तपुरमा उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको हुँदा भक्तपुर प्रहरीलाई बुझाउने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले साउन १५ गते गुन्डागर्दी गरेको आरोपमा चक्रेससहित साम्बाला होटलबाट पक्राउ परेका ४७ जनामध्ये १९ जनालाई मुद्दा चलाइएको थियो। सरकारी वकिल कार्यालय काठमाडौंले उनीहरुविरुद्ध  अभद्र व्यवहारको मुद्दा दायर गरेको थियो । थुनछेक बहसपछि अदालतले आज सबैलाई धरौटीमा रिहा गर्न आदेश गरेको हो । आदेश पश्चात् चक्रे बाहेक सबै धरौटी बुझाएर रिहा भएको काठमाडौं प्रहरीले जनाएको छ।

अदालतले गणेशबहादुर बोगटीलाई २० हजार, नीराजन पौडेललाई १० हजार,  रोशन सुवेदीलाई १० हजार, राजेश खड्का ‘रोजेश’ लाई ३० हजार र सन्दीप केसीलाई १० हजारमा रिहा गर्न आदेश गरेको हो । त्यस्तै राहुल खड्कासँग १० हजार, यामु पौडेलसँग १० हजार, सौरभ सुनारलाई १० हजार, डिल्लीराज कँडेललाई २० हजार र ऋतिक लामासँग २० हजार धरौटी मागिएको छ ।

अन्य कसुरदारहरु चन्द्रदेव कार्की, जितबहादुर लामा, प्रकाश गोले, अमिर आलेमगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाहीलाई जनही १० हजार धरौटी माग गरिएको छ । 

काठमाडौं सरकारी वकिल कार्यालयले अभद्र व्यवहार सम्बन्धी कसुरमा उनीहरुविरुद्ध १ वर्ष कैद र १० हजार जरिवाना सजाय गर्न मागदावी गरेको थियो ।

 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्