नेभिगेशन
नेपाल प्रहरी

सल्यानमा चोरीका जीप धामाधम नियन्त्रणमा आउँदै, ६ वटा जीप भन्सारमा

सल्यान । सल्यान प्रहरीले पछिल्लो समय सवारी चेकजाँचलाई तीव्र बनाउँदै चोरीका जीपहरू नियन्त्रणमा लिएको छ। केही समययता प्रहरीले चोरीका ६ वटा जीप नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सवारी चेकजाँचका क्रममा बिलबुक तथा अन्य आवश्यक कागजात फेला नपरेपछि चोरीको आशङ्कामा यसअघि नियन्त्रणमा लिइएका ४ वटा  जीपलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भन्सार कार्यालय बाँके पठाइसकिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

यसैबीच, पछिल्लो पटक मंसिर ८ गते प्रहरीले थप दुई वटा  जीप नियन्त्रणमा लिएको थियो। लु १ ज ११७१ र को १ ज २७१९ नम्बरका कालो नम्बर प्लेट भएका महेन्द्रा कम्पनीका बोलेरो जीपका धनीले बिलबुकलगायत आवश्यक कागजात प्रस्तुत गर्न नसकेपछि ती सवारी साधनहरूलाई पनि चोरीको आशङ्कामा नियन्त्रणमा लिई कारबाहीका लागि भन्सार कार्यालय बाँके पठाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी होमबहादुर खत्री सल्यान सरुवा भएर आएलगत्तै चोरीका सवारी साधन, अवैध रूपमा राखिएका हतियार तथा गैरकानुनी गतिविधिविरुद्ध विशेष अभियान सञ्चालन गर्दै आएका छन्। सोही अभियानअन्तर्गत जिल्लाभर सवारी चेकजाँचलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्