नेभिगेशन
नेपाल प्रहरी

कर्णाली प्रदेश तालिम केन्द्रले गर्‍यो २१५ जवानलाई दिक्षित,शान्ति सुरक्षामा निर्मम हुन निर्देशन

नेपालगञ्ज । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रले २१५ जना प्रहरी जवानलाई दिक्षित गरेको छ । हाल नेपालगञ्जमा रहेको कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतले आज प्रहरी जवान आधारभूत तालिम ९-१४०औं समूहको दिक्षान्त समारोह गरेर उनीहरुलाई दिक्षित गरेको हो ।

कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधव प्रसाद श्रेष्ठको उपस्थितिमा २१५ जना जवानहरुलाई दिक्षित गरिएको हो । जसमा ७२ जना पुरुष र १४३ जना महिला रहेका छन् । सो अवसरमा कर्णाली प्रदेश प्रहरी प्रमुख श्रेष्ठले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा निर्मम भएर लाग्न निर्देशन दिए । पछिल्लो समय अपराधका शैलीहरु परिवर्तन हुँदै गएकाले अनुसन्धानको काम थप जटिल र चुनौतिपूर्ण भएको बताउँदै उनले सोही अनुसार प्रहरीले कार्य सम्पादनको शैलीलाई परिमार्जित गरी उत्कृष्टता हासिल गर्न निर्देशन दिए । उनले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगञ्जको प्राङ्गणमा भएको कार्यक्रममा दिक्षित जवानहरुलाई कार्य सफलताको कामना गर्दै मर्यादित भएर लाग्न निर्देशन दिए ।

कर्णाली प्रदेश तालिम केन्द्रका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नान्तीराज गुरुङले दिक्षित प्रहरीहरुलाई सपथ ग्रहण गराए । सपथ गराउँदै प्रहरी वरिष्ठ उपरीक्षक गुरुङले प्रहरी जवानहरुलाई तालिममा सिकेका सीप र ज्ञानलाई आफ्नो कार्य क्षेत्रमा कुशलतापूर्वक उतार्न निर्देशन दिए । तालिम संयोजक प्रहरी नायब उपरीक्षक सुरेन्द्र प्रसाद जोशीले तालिम प्रतिवेदन प्रस्तुत गरेका थिए । 

दिक्षान्त समारोहमा तालिममा सहभागी भई सर्बोत्कृष्ट बन्न सफल प्रहरी जवान प्रकाश शाही, दोस्रो बन्नुभएका दीपक बिश्वकर्मा र तेस्रो स्थान हासिल गर्न सफल अनिता बुढालाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्