नेभिगेशन
नेपाल प्रहरी

दोहोरो हत्या घटना:केही घण्टाभित्रै सफल अनुसन्धान सम्पन्न गर्ने डीएसपीसहितको टोली पुरस्कृत

काठमाडौं । ललितपुरमा दुई दिनको अन्तरालमा सिन्धुलीका दुई युवकको हत्या भएको घटनाको छानबिनमा उल्लेखनीय सफलता हासिल गरेको भन्दै काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले सात जना प्रहरी अधिकृत तथा कर्मचारीलाई पुरस्कृत गरेको छ।

सिन्धुली घर भएका २५ वर्षीय केशवराज हायु र पारुहाङ राईको हत्या प्रकरणलाई छिटो अनुसन्धान गरी निष्कर्षमा पुर्‍याएकोमा डीएसपी बेद पौडेल, डीएसपी पञ्चलाल गोले, इन्स्पेक्टर शिव थापा, दुई जना सई ,एक जना असई र एक जना हवल्दार गरी सात जनालाई पुरस्कृत गरिएको हो।

प्रहरीका अनुसार अनुसन्धान टोलीले घटना भएको केही घण्टामै हत्या प्रकरणमा संलग्न मुख्य शंकित देवराज ढुंगेल र जयराज अधिकारीलाई पक्राउ गर्न सफल भएको थियो। अनुसन्धानका क्रममा सबै सम्भावित आयामलाई सूक्ष्म रूपमा विश्लेषण गर्दै अपराधीलाई कानूनी दायरामा ल्याइएको प्रहरीको भनाइ छ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले यस घटनालाई ‘छिटो र प्रभावकारी अनुसन्धान’को उदाहरणीय सफलता मानेको छ। प्रहरी स्रोतका अनुसार यो उपलब्धिले प्रहरीको अनुसन्धान क्षमता मात्र होइन, नागरिक सुरक्षा र न्याय प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई समेत सशक्त बनाएको छ।

विशेषतः डीएसपी बेद  र डीएसपी पञ्चलाल नेतृत्वमा सम्पन्न अनुसन्धानले आधुनिक अनुसन्धान प्रविधि, टोलीगत समन्वय र छिटो निर्णय क्षमताको प्रभावकारी प्रयोग देखाएको प्रहरीको निष्कर्ष छ।

यसले प्रहरीप्रति नागरिकको विश्वास थप मजबुत हुने र आगामी जटिल अपराध अनुसन्धानमा समेत मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्