नेभिगेशन
नेपाल प्रहरी

प्रहरी प्रधान कार्यालयले भन्यो- तोकिएको दरबन्दीमा हाजिर भएपछि मात्र दर्ज्यानी चिन्ह

काठमाडौँ। नेपाल प्रहरीले बढुवा भएका प्रहरी सहायक हवल्दारदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मका कर्मचारीहरूलाई अब तोकिएको दरबन्दीमा अनिवार्य रूपमा हाजिर भएपछि मात्रै दर्ज्यानी चिन्ह प्रदान गर्ने व्यवस्था लागू गरेको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको परिपत्रअनुसार, बढुवा भएपछि नयाँ पदस्थापन भएको कार्यालयमा हाजिर नगरी पुरानै कार्यालयमा कामकाज गर्ने प्रवृत्तिले जनशक्ति व्यवस्थापनमा समस्या सिर्जना भएको भन्दै उक्त व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सबै प्रहरी कार्यालयलाई निर्देशन दिइएको हो।

यसअघि कार्यरत कार्यालयमै दर्ज्यानी चिन्ह सुशोभन गरिँदा कतिपय प्रहरी कर्मचारीहरू नयाँ जिम्मेवारी पाएको कार्यालयमा ढिलाइ गरी हाजिर हुने गरेको पाइएको थियो। यसले संगठनको दैनिक कार्य सञ्चालन तथा जनशक्ति परिचालनमा प्रत्यक्ष असर परेको प्रहरी प्रधान कार्यालयको भनाइ छ।

अब बढुवा भई दरबन्दी कायम भएका प्रहरी कर्मचारीहरूले सम्बन्धित कार्यालयमा हाजिर भएको आधिकारिक पुष्टि भएपछि मात्रै सोही कार्यालयका तोकिएका प्रहरी अधिकृतमार्फत दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम आयोजना गरिनेछ।

यस व्यवस्था प्रभावकारी रूपमा लागू गर्न सबै प्रहरी कार्यालयहरूलाई औपचारिक रूपमा परिपत्र गरिसकिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरी संगठनभित्र अनुशासन, पारदर्शिता र प्रभावकारी जनशक्ति व्यवस्थापनलाई थप सुदृढ बनाउने उद्देश्यसहित लागू गरिएको यस व्यवस्थालाई आईजीपी कार्कीको दूरदर्शी कदमका रूपमा हेरिएको छ।

उक्त निर्णयप्रति प्रहरी संगठनभित्र तथा सरोकारवाला निकायहरूबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्