नेभिगेशन
नेपाल प्रहरी

प्रलोभनमा पारेर युके पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर युके पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ  ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दाङ राप्ती गाउँपालिका–१ बस्ने प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौंको स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ घर भएका ४० वर्षीय आईते तामाङ र काठमाडौंको महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरुङ रहेका छन्।

प्रहरीका अनुसार इन्द्र केसी र आईते तामाङले युके पठाइदिने भन्दै ७ जना पीडितबाट १३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। त्यस्तै विजय गुरुङले पनि १ जना पीडितबाट ५ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरी परेको थियो।

उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले इन्द्र केसी र आईते तामाङलाई  काठमाडौं महानगरपालिका–२६ गोंगबुबाट पक्राउ गरेको हो। त्यस्तै विजय गुरुङलाई  काठमाडौं महानगरपालिका–१४ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका इन्द्र केसी र आईते तामाङलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने विजय गुरुङलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्