काठमाडौं। नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि पुस २० गतेसम्म ५ लाख २६ हजार ३५५ जनालाई अनलाइनमार्फत प्रहरी चारित्रिक प्रमाणपत्र (पुलिस रिपोर्ट) उपलब्ध गराएको छ।
सो अवधिमा ६ लाख ५९ हजार ४५ वटा आवेदन प्राप्त भएका थिए। तीमध्ये १ लाख ३० हजार ४२९ आवेदन रद्द भएका छन् भने २ हजार २६१ आवेदन कार्यान्वयनको क्रममा छन्। हाल दैनिक ५ हजार ५ सयदेखि ६ हजार आवेदन प्राप्त हुने गरेको र करिब ४ हजार ५ सय प्रमाणपत्र दैनिक उपलब्ध गराइने गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक अबि नारायण काफ्लेका अनुसार, “विकसित मुलुकहरूले भिसा प्रदान गर्नु अघि नागरिकको आपराधिक पृष्ठभूमि बुझ्ने प्रावधान लागू गरेका छन्। नेपालमा पनि सरकारी तथा निजी संघसंस्थाले रोजगारी लगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन्। आपराधिक गतिविधिमा संलग्न व्यक्तिले प्रहरी चारित्रिक प्रमाणपत्र पाउँदैनन्, जसले रोजगार वा अन्य अवसरबाट वञ्चित हुनुपर्दछ। कतिपय अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूले भर्ना र छात्रवृत्ति समेत चारित्रिक प्रमाणपत्रको आधारमा प्रदान गर्ने गर्दछन्। त्यसैले सबै नागरिकले कानुनको पालना गर्दै आफ्नो स्वच्छ छवि कायम राख्नुपर्छ।”
नेपाल प्रहरीले प्रहरी रिपोर्ट पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। अपराध सम्बन्धी राष्ट्रिय अभिलेख तथा प्रहरी चारित्रिक प्रमाणपत्र वितरण निर्देशिका, २०८० अनुसार, कुनै व्यक्तिले अदालत वा अर्धन्यायिक निकायबाट सजाय भुक्तान नगरी प्रमाणपत्र पाउने छैन।
प्रमाण पत्रमा कसुर उल्लेख हुने र नहुने अवस्था:
* गम्भीर वा जघन्य कसुरमा सजाय पाएका, भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचबिखन, लागूऔषध, सम्पत्ति शुद्धिकरण, राहदानी दुरूपयोग लगायतका फौजदारी कसुरमा सजाय भुक्तान गरेका व्यक्तिको हकमा त्यस्तो कसुर उल्लेख गरी प्रमाणपत्र उपलब्ध हुनेछ।
* कुनै फौजदारी अभियोगमा मुद्दा दायर भए पनि सफाइ पाएका, नाबालक, अदालत वा अर्धन्यायिक निकायबाट सुरू कारवाही वा किनारा हुने मामिला, वा एक वर्ष वा सो भन्दा कम सजाय भुक्तान भएका व्यक्तिको हकमा कसुर उल्लेख नगरी प्रमाणपत्र उपलब्ध हुनेछ।
प्रहरी रिपोर्ट सम्बन्धी कामका लागि Criminal Record System (CRS) र Online Police Clearance Registration System (OPCR) प्रयोगमा छन्। CRS मा आपराधिक घटना र संलग्न व्यक्तिको अद्यावधिक अभिलेख राखिन्छ। होल्डमा रहेका आवेदनहरूको सम्बन्धमा प्रहरी कार्यालयहरूलाई समय सीमा तोकी पत्राचार गर्ने गरिएको छ। तर मातहत कार्यालयबाट जवाफ आउन समय लाग्ने र त्यसैले सेवाग्राहीले प्रमाणपत्र पाउन केही समय लाग्ने गरेको प्रहरी प्रधान कार्यालयको भनाइ छ।
प्रवक्ता काफ्लेले थपे, “विगतका अभिलेखहरू पूर्ण नभएका कारण केही आवेदनहरू होल्डमा रहन्छन्। आवेदन भेरीफाई गर्दा समय लाग्न सक्छ। हामी आधुनिक प्रविधि प्रयोग गर्दै सेवा अझ सशक्त बनाउने प्रयासमा छौं।”
भदौ २३–२४ गतेको आन्दोलनपछि मातहत कार्यालयहरूको अभिलेखमा समस्या भएको र प्रहरी चारित्रिक प्रमाणपत्र सबै क्षेत्रमा अनिवार्य भएपछि आवेदकको संख्या उल्लेख्य बढेको छ। यसकारण हाल प्रमाणपत्र वितरणमा केही समय लाग्ने गरेको छ।