नेभिगेशन
नेपाल प्रहरी

सामाजिक सञ्जाल अनुशासन उल्लंघन: प्रहरीका डीआईजीदेखि जवानसम्म ५९९ प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीत गैरव्यावसायिक तथा अमर्यादित सामग्री पोष्ट गर्ने ५ सय ९९ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको छ । 

आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स (ट्विटर), टिकटक लगायतका विभिन्न सामाजिक सञ्जालमार्फत संगठनविरुद्ध अमर्यादित टिप्पणी गर्ने तथा प्रहरी पोषाकको दुरुपयोग गर्ने प्रहरी कर्मचारीहरूलाई कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रधान कार्यालयका अनुसार कारबाहीमा पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १ जना, प्रहरी उपरीक्षक ४ जना, प्रहरी नायब उपरीक्षक ५ जना, प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवल्दार ७ जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३ सय ५८ जना र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन्।

प्रहरी प्रधान कार्यालए उनीहरूलाई संगठनको नीति तथा आचारसंहिता विपरीत कार्य गरेको ठहर गर्दै सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरेको।

नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१/०९/११ मा परिपत्र जारी गर्दै सामाजिक सञ्जाल प्रयोगसम्बन्धी Guidelines लागू गरेको थियो । साथै प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता सम्बन्धी कार्यादेश २०७७ तथा प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा जारी परिपत्रहरूमा समेत सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण देखिने गरी हातहतियार, पोषाक, सवारी साधन तथा प्रहरी गतिविधिसँग सम्बन्धित भिडियो वा फोटो अपलोड, टिप्पणी तथा टिकाटिप्पणी गर्न निषेध गरिएको छ ।

यसैगरी सामाजिक सञ्जाल प्रयोग गर्दा गोपनीयता, शान्ति सुरक्षा, धार्मिक तथा साम्प्रदायिक सद्भावमा खलल पुग्ने कुनै पनि सामग्री पोष्ट, शेयर, लाइक वा टिप्पणी गर्न नपाइने व्यवस्था गरिएको छ ।

पछिल्लो समय नेपाल प्रहरीले सामाजिक सञ्जाल प्रयोग सम्बन्धी नीति विपरीतका सामग्री हटाउने तथा दोषीलाई कारबाहीको दायरामा ल्याउने कार्यलाई तीव्र बनाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्