नेभिगेशन
नेपाल प्रहरी

मोटरसाइकल चोरलाई पक्राउ गर्न गएका सई केसीमाथि नै चक्कु प्रहार

काठमाडौँ ।  मोटरसाइकल चोरीमा संलग्न समूहलाई पक्राउ गर्न पुगेको प्रहरी टोलीमाथि नै आक्रमण भएको छ।भक्तपुरको सूर्यबिनायक नगरपालिका–स्थित नालागुम्बामा मोटरसाइकल चोरीमा संलग्न रहेका आरोपीले चक्कु प्रहार गर्दा उपत्यका अपराध अनुसन्धान कार्यालयका सई सञ्जिव केसी घाइते भएका छन्।

प्रहरीका अनुसार  सई केसी अपराध अनुसन्धान कार्यालयको भक्तपुर शाखामा कार्यरत रहेका सई केसीको चक्कु प्रहारबाट दाहिने ढाड र छातीमा गहिरो चोट लागेको छ। उनको अहिले महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

बुधबार इन्स्पेक्टर हेम थपलियाको कमाण्डमा गएको प्रहरी टोलीमाथि मोटरसाइकल चोरीमा संलग्न आरोपीहरूले स्थानीय लोकल भाले एण्ड फेमिली रेष्टुरेण्टमा जम्काभेटका क्रममा आक्रमण गरेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर भई भक्तपुर बस्दै आएका २६ वर्षीय सागर शंकर सोती, २५ वर्षीय सन्तोष दुलाल, सिराहा घर भई ताथली बस्दै आएका २० वर्षीय बिरेन्द्र मलिक र काठमाडौँ महानगरपालिका–२७ घर भएका अभय तुलाधर रहेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकामध्ये एक जना जेनजी आन्दोलनका क्रममा फरार भएका कैदी रहेको प्रहरीले जनाएको छ। घटनामा प्रयोग गरिएको दुई वटा मोटरसाइकलसमेत प्रहरीले बरामद गर्दै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्