नेभिगेशन
नेपाल प्रहरी

सामुदायिक वनमा प्रहरी भेटायो लुकाएर राखिएको १० थान बन्दुक

काठमाडौँ । सल्यान र बागलुङ जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रबाट प्रहरीले बेवारिसे अवस्थामा लुकाएर राखिएको १० थान भरुवा बन्दुक बरामद गरेको छ।

सोमबार फरक–फरक समयमा खटिएका प्रहरी टोलीले वन क्षेत्रमा लुकाइछिपाइ राखिएको अवस्थामा ती हतियार फेला पारेका हुन्। सल्यानको त्रिवेणी गाउँपालिका–५ अन्तर्गत पर्ने शान्ति सुरक्षा सामुदायिक वनबाट ६ थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। नियमित वन गस्तीका क्रममा खटिएको विशेष प्रहरी टोलीले उक्त हतियार फेला पारेको हो। बन्दुक कसले र किन त्यहाँ राखेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

यस्तै, बागलुङको तमानखोला गाउँपालिका–२ स्थित रानीकोट सामुदायिक वनबाट ४ थान भरुवा बन्दुक बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट खटिएको प्रहरी टोलीले वन क्षेत्रमा ती हतियार भेट्टाएको हो।

प्रहरीका अनुसार दुवै जिल्लामा बरामद भएका हतियारसम्बन्धी घटनाबारे थप छानबिन भइरहेको छ भने हतियार लुकाइराख्ने व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्