नेभिगेशन
अदालत

कैलालीका भुपेन्द्र बडुवाल हत्या प्रकरण: ६ जनालाई आजीवन कारावास,७ जनालाई जन्मदैको फैसला

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ निवासी भूपेन्द्र बडुवालको हत्या प्रकरणमा जिल्ला अदालत कैलालीले १३ जनालाई जन्मकैदको सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश गोकुल निरौलाको एकल इजलासले मुख्य अभियुक्त नवीन रावलसहित ६ जनालाई जीवनभर जेलमै रहने गरी आजीवन कारावासको फैसला गरेको हो। अदालतका सूचना अधिकारी पंकज उपाध्यायका अनुसार नवीन रावल, आर्यान देवकोटा, रोशनबहादुर शाही, अनुज भन्ने चिरञ्जिवी जंग शाही, रोहित आले र हिमाल शाहीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ४१ अनुसार जीवित रहुन्जेलसम्म कैद सजाय तोकिएको छ।

त्यसैगरी, मदन शाही, हेमन्त शाही, धिरज भन्ने दिपेन्द्र शाही, गोलु भन्ने निशान्त मल्ल र शोहन शाहलाई दफा १७७(१०) बमोजिम जन्मकैदको सजाय सुनाइएको छ। लोकेंद्र कुँवर र सविनजंग शाहीलाई पनि अभियोग दाबीअनुसार जन्मकैद हुने ठहर अदालतले गरेको छ।

अदालतले अशोक रावल, महेश रावल, जयन्द्र शाह, विकास खड्का, प्रविन रिमाल, विकास सेरचन थकाली र कपिल श्रेष्ठ गरी ७ जनालाई भने अभियोगबाट पूर्ण रूपमा निर्दोष ठहर गर्दै सफाइ दिएको छ।

यसैबीच, घटनाको सुरुदेखि फरार रहेका लोकजंग शाहीको हकमा भने मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९८ अनुसार मुद्दा मुल्तबीमा राख्ने आदेश भएको छ।

त्यस्तै,अदालतले दोषी ठहर भएका १३ जनाबाट संयुक्त रूपमा पीडित पक्षलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति दामासाहीका आधारमा उपलब्ध गराउन आदेश दिएको छ। साथै, उनीहरू प्रत्येकले कानुनअनुसार जनही दुई हजार आठ सय रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्नुपर्ने निर्णय गरिएको छ।

भूपेन्द्र बडुवालको २०७८ साल कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा हत्या भएको थियो। घटनापछि २०७८ फागुन २६ गते जिल्ला सरकारी वकिल कार्यालयले नवीन रावलसहित २१ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्