नेभिगेशन
नेपाल प्रहरी

एसबीआई बैंक डकैती घटना: लूटिएको करोडौं रुपैयाँ बरामद,लुटेराको खोजतलास जारी

काठमाडौँ । सिन्धुलीको घ्याङलेख गाउँपालिका–हायुटारमा रहेको नेपाल एसबीआई बैंकको शाखा हतियारधारी समूहले लूटपाट गरेको छ।   उक डकैती घटनामा करिब पाँच जना नकाबधारी लुटेराहरूले योजनाबद्ध रूपमा बैंकभित्र प्रवेश गरी सुरक्षाकर्मीलाई नियन्त्रणमा लिँदै करोडौं रुपैयाँ  लुटेर फरार भएका छन्।

प्रहरीका अनुसार बनेपातर्फबाट आएको टाटा सुमोमा सवार लुटेराहरूले पेस्तोल देखाएर सुरक्षागार्डलाई काबुमा लिएका थिए। प्रतिकार गर्ने क्रममा गार्डमाथि खुकुरी प्रहार हुँदा उनी घाइते भएका छन्। त्यसपछि कर्मचारीलाई बन्धक बनाएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटपाट गरिएको जनाइएको छ।

घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा लुटपाटमा प्रयोग भएको बा ३ डी ०३९८ नम्बरको इम्बोस्ड प्लेट भएको टाटा सुमो र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ। उक्त सवारी साधन घ्याङलेख गाउँपालिका–१ को टुनी भञ्ज्याङ क्षेत्रबाट फेला परेको वडा अध्यक्ष रोशन भ्लोनले जानकारी दिए।

लुटेराहरू भाग्ने क्रममा छाडेका दुई बोरा नगद समेत बरामद गरिएको छ। यद्यपि, ती बोरामा रहेको रकमको यकिन विवरण गणना भइसकेको छैन। बरामद सवारी साधन र नगद इलाका प्रहरी कार्यालय बस्तिपुरमा सुरक्षित राखिएको छ।

घटनामा संलग्न अन्य लुटेरा भने नजिकैको जङ्गलतर्फ फरार भएकाले उनीहरूको खोजीका लागि व्यापक घेराबन्दी र खोजतलास अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। घाइते सुरक्षागार्डको उपचार भइरहेको छ भने फरार अभियुक्त पक्राउ गर्न छिमेकी जिल्लाका नाकामा समेत कडाइ गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्