नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीको नाममा ठगी धन्दा: लाखौं रुपैयाँ ठग्ने ५ जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको अभियोगमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ बस्ने ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–५ घर भएकी ३७ वर्षीया सुनिता ईधिङगो लिम्बु, काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१० घर भएका ३० वर्षीय अभिशेष कराला, काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–१ घर भएका ४६ वर्षीय चेतनारायण आचार्य, काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ बस्ने काभ्रेपलाञ्चोक चौंरीदेउराली गाउँपालिका–७ घर भएका ४९ वर्षीय रेशम लाल लामा तामाङ र काठमाडौं नागार्जुन नगरपालिका–६ बस्ने काठमाडौं महानगरपालिका–१७ घर भएकी ४२ वर्षीया निलिमा श्रेष्ठ रहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुनिताले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ, अभिशेषले माल्दिभ्स पठाइदिन्छु भन्दै ३ लाख ४० हजार रुपैयाँ, चेतनारायणले बेलायत पठाइदिन्छु भन्दै १३ लाख ६० हजार रुपैयाँ, रेशमले अमेरिका पठाइदिन्छु भन्दै ९ लाख रुपैयाँ र निलिमाले बेलायत पठाइदिन्छु भन्दै १२ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूको उजुरी परेको थियो।

उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनितालाई काठमाडौं महानगरपालिका–३२, अभिशेषलाई काठमाडौं महानगरपालिका–१२, चेतनारायणलाई काठमाडौं महानगरपालिका–२६, रेशमलाई काठमाडौं महानगरपालिका–६ बाट पक्राउ गरेको हो भने निलिमालाई काठमाडौं नागार्जुन नगरपालिका–६ बाट पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्