नेभिगेशन
नेपाल प्रहरी

युएई अध्ययनको नाममा करोडौँ ठगी, पाँच कन्सल्टेन्सी सञ्चालक सीआईबीको फन्दामा

काठमाडौँ । युएईमा अध्ययन गराइदिने प्रलोभन देखाएर लाखौँ रुपैयाँ असुली ठगी गरेको आरोपमा पाँच जना शैक्षिक कन्सल्टेन्सी सञ्चालक पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बेस्ट पाथ एजुकेशन, मर्सी एजुकेशन कन्सल्टेन्सी, सिटिहब एजुकेशन नेटवर्क र कान्तिपुर एब्रोड कन्सल्टेन्सीमा आबद्ध पाँच जनालाई पक्राउ गरेको हो। सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार उनीहरूले फ्रान्स र अष्ट्रेलियालगायतका विश्वविद्यालयबाट मान्यता प्राप्त कलेजमा युएईमार्फत क्रेडिट ट्रान्सफर हुने भन्दै विद्यार्थीबाट रकम उठाएका थिए।

तर शिक्षा मन्त्रालयको सम्बन्धित निकायबाट स्वीकृति नै नलिएका इन्स्टिच्युटका लागि विद्यार्थी पठाउने नाममा प्रतिविद्यार्थी ८ लाखदेखि २२ लाख रुपैयाँसम्म लिएको आरोप छ।

पक्राउ पर्नेमा बेस्ट पाथ एजुकेशनका कृष्ण थापा, मर्सी एजुकेशन कन्सल्टेन्सीका रामचन्द्र टन्डन, सिटिहब एजुकेशन नेटवर्कका सञ्चालक सुवास सिलवाल क्षेत्री, कान्तिपुर एब्रोड कन्सल्टेन्सीका सञ्चालक हेमराज भट्ट र दामोदर ढकाल रहेका छन्।

उनीहरूविरुद्ध हालसम्म १३ जनाले जाहेरी दिएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्