नेभिगेशन
नेपाल प्रहरी

एक महिनामै काठमाडौंबाट २४१ जना हराए, साइबर ठगीदेखि अपराधसम्म चुलिँदो चुनौती

काठमाडौं । काठमाडौँमा एक महिनाकै अवधिमा ठूलो संख्यामा मानिस बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले सार्वजनिक गरेको पौष महिनाको प्रगति विवरणअनुसार २४१ जनाको हराएको निवेदन प्रहरीमा दर्ता भएको हो।

काठमाडौं प्रहरीका अनुसार बेपत्ता हुनेमा विभिन्न उमेर समूहका मानिस रहेका छन्। हराएकामध्ये ७३ महिला, ८१ पुरुष, २६ बालक र ६१ बालिका छन्। तीमध्ये १४८ जनालाई प्रहरीले खोजी गरी फेला पारेको छ। फेला परेकामा ३८ महिला, ४७ पुरुष, १७ बालक र ४६ बालिका रहेका छन्। यद्यपि अझै पनि उल्लेख्य संख्यामा मानिसहरू सम्पर्कविहीन रहेको प्रहरीको तथ्याङ्कले देखाउँछ।

यस अवधिमा प्रहरी कार्यालयहरूमा उजुरीको चाप पनि उच्च देखिएको छ। परिसरका अनुसार प्रत्यक्ष रूपमा १४२३ वटा ठाडो उजुरी दर्ता भएका छन्। तीमध्ये १०५५ वटा उजुरी मिलापत्र वा फर्छ्यौट  मार्फत समाधान गरिएको छ। साथै जिल्ला प्रशासन कार्यालय हुँदै आएका २३३ उजुरीमध्ये १२० वटा टुंगो लगाइएको प्रहरीले जनाएको छ।

शान्ति सुरक्षा र अपराध नियन्त्रणतर्फ हेर्दा पौष महिनामा काठमाडौँमा कुल ९६२ वटा मुद्दा दर्ता भएका छन्। तीमध्ये ३५ वटा जघन्य तथा गम्भीर अपराधसँग सम्बन्धित छन् भने २८ महिला तथा बालबालिकासम्बन्धी र ४८४ आर्थिक अपराधका मुद्दा रहेका छन्।

चालु मुद्दाका क्रममा प्रहरीले एक महिनामा ३३९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३०० पुरुष र ३९ महिला छन्। अभद्र व्यवहार र बैंकिङ कसुरका मुद्दामा पक्राउ पर्नेको संख्या सबैभन्दा धेरै रहेको प्रहरीको भनाइ छ।

यसैबीच पछिल्लो समय साइबर अपराध र ठगीका घटनामा उल्लेख्य वृद्धि भएको देखिएको छ। पौष महिनामा मात्रै साइबर अपराध र ठगीसम्बन्धी १९१ वटा निवेदन दर्ता भएका छन्।

अनलाइन सपिङ, वैदेशिक रोजगार, बैंक खातामा अनधिकृत पहुँच तथा सामाजिक सञ्जालको दुरुपयोगमार्फत करिब ३ करोड ६६ लाख ८८ हजार रुपैयाँ बराबरको बिगो दाबी सहित उजुरी परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्