नेभिगेशन
ट्राफिक प्रहरी

ट्राफिक प्रहरीले फेला पार्‍यो चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर

काठमाडौँ । काठमाडौँ उपत्यकामा चोरी भएका दुईपांग्रे सवारी साधनको खोजीमा सक्रिय ट्राफिक प्रहरीले पछिल्लो समय उल्लेखनीय सफलता हासिल गरेको छ। उपत्यकाका विभिन्न स्थानबाट चोरी ५० वटा मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ।

आज रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्की र काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले सवारी साधन धनीलाई गाडीको साँचो हस्तान्तरण गरे।

आफ्नो सवारी फिर्ता पाउँदा खुशी व्यक्त गर्दै सवारीधनीहरूले अनुसन्धान तथा खोजीमा खटिएका प्रहरी कर्मचारीलाई मिठाइ खुवाएर धन्यवाद ज्ञापन गरे।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश सुवेदीका अनुसार पछिल्लो २५ दिनको अवधिमा मात्रै ५० वटा दुईपांग्रे सवारी फेला पारिएको हो। मोटरसाइकल चोरीमा संलग्न ७ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ मातहतका युनिटमा पठाइएको उनले जानकारी दिए।

यसैगरी, पुस महिनाभर ट्राफिक प्रहरीले ९२ वटा मोटरसाइकल तथा स्कुटर फेला पारेको छ। सोही अवधिमा उपत्यकाभित्र ३०५ वटा दुईपांग्रे सवारी हराएको उजुरी परेको तथ्यांक रहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्