नेभिगेशन
नेपाल प्रहरी

निर्वाचन सुरक्षामा कुनै कमजोरी नहोस् : आईजीपी कार्की

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न देशभरका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् ।

आईजीपी कार्कीले निर्वाचन लक्षित सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी आ–आफ्नो कार्यक्षेत्रमा आपराधिक गतिविधि हुन नदिन सूचना संकलन र विश्लेषणलाई अझ प्रभावकारी बनाउन निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

कार्कीले अपराध अनुसन्धान, सीमा नाकामा हुने राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार बरामद, ट्राफिक व्यवस्थापन तथा फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकतामा राखेर नतिजामूलक रूपमा कार्यसम्पादन गर्न जोड दिए । साथै हिरासत व्यवस्थापनमा विशेष सतर्कता अपनाउन र निर्वाचनमा खटिने प्रहरी छनोट प्रक्रियालाई निष्पक्ष, पारदर्शी र मर्यादित बनाउनु पर्नेमा उनले स्पष्ट निर्देशन दिएका छन्।

आईजीपी कार्कीले निर्वाचनको संवेदनशीलतालाई ध्यानमा राख्दै कुनै पनि प्रकारका अवाञ्छित गतिविधि हुन नदिन प्रहरी संगठन थप जिम्मेवार, सक्रिय र नागरिकमैत्री भएर परिचालन हुनुपर्ने जोड दिएका छन्  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्