नेभिगेशन
ट्राफिक प्रहरी

मोटरसाइकल चोरी गर्दागर्दै बुद्धबहादुर ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं। ट्राफिक प्रहरीले एक जनालाई मोटरसाइकल चोरी गर्दागर्दै नियन्त्रणमा लिएको छ। काठमाडौं महानगरपालिका–८ पिङ्गलास्थानबाट मोटरसाइकल चोरी गर्न लागेको अवस्थामा काभ्रेको तेमाल गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बालाजु बस्दै आएका ४१ वर्षीय बुद्धबहादुर सेढाई रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार सेढाईले बा ६६ प ४४३४ नम्बरको मोटरसाइकल पिङ्गलास्थानस्थित एक पार्किङ क्षेत्रबाट चोरी गर्न लागेको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। उक्त मोटरसाइकल पर्साको छिपहरमाई गाउँपालिका–४ निवासी नागेश्वर साह कानुले हराएको भनी खोजतलासका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।

मोटरसाइकलसहित नियन्त्रणमा आएका सेढाईलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए।

प्रहरी उपरीक्षक सुवेदीले सवारीधनीहरूलाई आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्न, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक तथा सुरक्षा साइरन जडान गर्न आग्रह गर्नुभएको छ। साथै, मानिसहरूको आवत–जावत कम हुने एकान्त स्थानमा सवारी साधन पार्किङ नगर्न पनि अनुरोध गरेका छन् ।

ट्राफिक प्रहरीले हराएका सवारी साधनको खोजतलास तथा चोरी नियन्त्रण कार्यलाई निरन्तरता दिँदै आए पनि सवारीधनी स्वयं सजग भई सुरक्षित पार्किङ गर्न आवश्यक रहेको प्रहरीले जनाएको छ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्काल सवारी साधनको विवरणसहित जानकारी गराउन र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्