नेभिगेशन
नेपाल प्रहरी

दुईवटा मोटरसाइकल चोरी गरेर प्रहरीको चेकिङ छलेर भाग्दै गरेका २ युवक पक्राउ

काठमाडौं । दुईवटा मोटरसाइकल चोरेर भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।भक्तपुरबाट चोरी गरिएको मोटरसाइकल लिएर मकवानपुरतर्फ जाँदै गरेका दुई जनालाई प्रहरीले ललितपुरको भट्टेडाँडा क्षेत्रबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार पक्राउ पर्नेहरूमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भई हाल ललितपुरको भैंसेपाटी बस्ने २५ वर्षीय ब्रिजन तामाङ र भक्तपुरको सुडाल बस्ने २३ वर्षीय युनिक तामाङ रहेका छन्।

जगुमाया प्रहरी चौकीबाट खटिएको टोलीले भट्टेडाँडामा सवारी साधन जाँच गर्ने क्रममा उनीहरूलाई रोक्न खोज्दा मोटरसाइकल नरोकी भागेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई पछ्याउँदै नियन्त्रणमा लिन सफल भएको ललितपुर प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरू सवार बागमती प्रदेश–०२–०४४ प ६९१२ र बा ३६ प ७९०८ नम्बरका दुई वटा मोटरसाइकल बरामद गरेको छ। प्रारम्भिक अनुसन्धानमा ती मोटरसाइकल भक्तपुरबाट चोरी गरिएको खुलेको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा पठाइएको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्