नेभिगेशन
नेपाल प्रहरी

लुटपाट र आतंकी गिरोहका मुख्य नाइके विनय पक्राउ,प्रहरीले गोली हानेर गरेको थियो पक्राउ

काठमाडौँ । काठमाडौँको मूलपानी क्षेत्रमा प्रहरीको कारबाहीका क्रममा गोली लागेर पक्राउ परेका लुटेरा समूहका मुख्य नाइके (योजनाकार) विनय तामाङ भएको खुलेको छ। काभ्रे स्थायी घर भएका तामाङको दायाँ खुट्टामा गोली लागेको हो। हाल उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तामाङसहित १० जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँले विस्तृत अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार उनीहरूको समूहले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा लगातार लुटपाट गर्दै आएको थियो।

बुधबार राति शंकास्पद गतिविधिमा संलग्न समूहलाई रोक्न खोज्दा उनीहरूले मोटरसाइकल प्रहरीमाथि ठोक्काएर भाग्न खोजेपछि गोली चलाउनु परेको एक प्रहरी अधिकृतले बताएका छन्।

अनुसन्धानबाट तामाङ यसअघि पनि प्रहरी हिरासतबाट फरार भएको व्यक्ति रहेको खुलेको छ। भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनी प्रहरी वृत्त महाराजगन्जको हिरासतबाट भागेका थिए। प्रहरीका अनुसार उक्त समूह अहिलेसम्म उपत्यकाभित्र २२ वटा लुटपाट घटनामा संलग्न रहेको प्रमाण फेला परेको छ।

लुटेरा समूहले विशेषगरी साँझ र रातिको समयमा हिँडडुल गर्ने महिलाको कानको गहना खोस्ने तथा एकान्त स्थानमा सर्वसाधारणलाई लुटेर मोटरसाइकलमा फरार हुने शैली अपनाउँदै आएको थियो। साह्रखुट्टेमा चार वटा, बौद्ध, महाराजगन्ज, गौशाला र भक्तपुरको थिमी क्षेत्रमा उनीहरूको सक्रियता देखिएको प्रहरीले जनाएको छ।

अनुसन्धानमा खटिएका एक अधिकारीका अनुसार समूह प्रायः दुईवटा मोटरसाइकल प्रयोग गरी एकै रातमा चार वटासम्म लुटपाट गर्ने गर्थ्यो। पक्राउ परेका सबै १० जना नै यसअघि पनि आपराधिक गतिविधिमा संलग्न भइसकेका ‘पटके अपराधी’ रहेको प्रहरीले जनाएको छ।

हाल सबै आरोपीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्