नेभिगेशन
सुरक्षा विशेष

सम्पर्कविहीन हुनेको संख्या बढ्दो, हजारबढी अझै सम्पर्क बाहिर

काठमाडौं । पछिल्लो समय मधेस प्रदेशमा    सम्पर्कविहीन हुने व्यक्तिको संख्या गम्भीर रूपमा बढ्दै गएको तथ्य सार्वजनिक भएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्ला ६ महिनाको अवधिमा २ हजार ५७२ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।

मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले जानकारी दिएअनुसार तीमध्ये सबैभन्दा बढी पुस महिनामा १ हजार ४४८ जना सम्पर्कविहीन भएका थिए। सम्पर्कविहीनमध्ये हालसम्म १ हजार ५०१ जना फेला परे पनि बाँकी अझै अज्ञात अवस्थामा रहेका छन्।

यसैबीच, जेनजी आन्दोलनका क्रममा भएका मानवीय तथा भौतिक क्षतिको विवरण पनि मधेस  प्रहरीले सार्वजनिक गरेको छ। प्रहरीका अनुसार  आन्दोलनको क्रममा मधेस प्रदेशमा ४ जनाले ज्यान गुमाएका थिए। आन्दोलनका कारण प्रदेशभर २३४ वटा सरकारी कार्यालयमा क्षति पुगेको र त्यसबाट करिब ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको छ।

त्यसैगरी, आन्दोलनको अव्यवस्थाका कारण मधेस प्रदेशका विभिन्न कारागारबाट १ हजार ४५ जना कैदीबन्दी फरार भएका थिए। तीमध्ये हालसम्म ५७९ जनालाई नियन्त्रणमा लिन सफल भए पनि बाँकी अझै फरार नै रहेको मधेस प्रहरीले जनाएको छ।

मधेस प्रदेश प्रहरी कार्यालयका अनुसार बाल सुधार गृहहरू पनि आन्दोलनबाट प्रभावित भएका छन्। आन्दोलनको क्रममा प्रदेशका विभिन्न बाल सुधार गृहबाट ६८ जना बालक फरार भएको र तीमध्ये २० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बाँकी ४८ जना अझै खोजीको क्रममा रहेको जानकारी पनि प्रवक्ता थापाले बताएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्