नेभिगेशन
नेपाल प्रहरी

त्रिभुवन विमानस्थलमा सुन तस्करी प्रयास: भारतीय नागरिक र विमानस्थलकै सरसफाइ कर्मचारी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवैध रूपमा सुन ओसारपसार गर्ने प्रयासमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा एक भारतीय नागरिक र विमानस्थलमै कार्यरत एक सरसफाइ कर्मचारी रहेका छन्। विमानस्थल सुरक्षा कार्यालयले छुट्टाछुट्टै घटनामा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार आज बिहान दुबईबाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ आएका ४९ वर्षीय भारतीय नागरिक अबु बरकत कुदरते खुदा काजी शंकास्पद देखिएपछि जाँचका लागि रोकिने क्रममा पक्राउ परेका हुन्। विस्तृत जाँच गर्दा उनले मलद्वारभित्र सुन लुकाएको आशंका गरिएको थियो। त्यसपछि शौचालयमा शौच गराउँदा करिब १०० ग्राम तौलको पहेँलो रङको अर्धठोस धातुको डल्ला फेला परेको प्रहरीले जनाएको छ। भन्सार छल्न खोजेको आरोपमा उनलाई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

यसैगरी, विमानस्थलको आन्तरिक सुरक्षा प्रणाली छलेर सुन बाहिर लैजान खोज्ने आरोपमा सरसफाइ कर्मचारी डिक बहादुर राउत पनि पक्राउ परेका छन्। सुनगाभा सगरमाथा सर्भिस प्रालिमा कार्यरत ४० वर्षीय राउत विमानस्थलभित्रको डस्टबिनबाट फोहोर संकलन गरी बाहिर निस्कँदै गर्दा प्रहरी चेकिङ पोस्टमा रोकिएका थिए। फोहोरको पोका स्क्रिनिङ गर्दा भित्र लुकाइएका ४.४ ग्राम तौलका सुनका सिक्रीका टुक्रा भेटिएपछि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान जारी छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्