नेभिगेशन
नेपाल प्रहरी

अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षामा प्रभावकारिता बढाउन प्रहरी प्रमुखको निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी)  दान बहादुर कार्कीको उपस्थितिमा वार्षिक कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम आज नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ।

प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका लागि संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा समावेश क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताए। वार्षिक लक्ष्य हासिल गर्न आगामी दिनहरूमा कार्यसम्पादन सम्झौताको कार्यान्वयनमा थप व्यावसायिकता प्रदर्शन गर्दै कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए।

प्रहरी महानिरीक्षक कार्कीले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापनलगायतका प्रहरी कार्यलाई थप चुस्त र व्यवस्थित बनाउँदै प्रभावकारी प्रहरी परिचालनमा विशेष ध्यान दिनुपर्ने बताए। उनले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्नुपर्ने उल्लेख गरे। साथै फरार अभियुक्त पक्राउ, आर्थिक तथा वित्तीय अपराध, राजस्व चुहावट नियन्त्रण तथा आपराधिक गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी थप सक्रिय हुनुपर्ने बताए।

हिरासत व्यवस्थापनमा थप संवेदनशीलता अपनाई कार्य गर्नुपर्ने बताउँदै उनले कार्यसम्पादन सम्झौताको समीक्षामार्फत आ–आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरी आगामी दिनमा असल अभ्यासहरू आत्मसाथ गर्दै कार्य गर्न निर्देशन दिए।

समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका पाँचवटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्यसम्पादन सम्झौताको अर्धवार्षिक प्रगति समीक्षा सम्बन्धी प्रस्तुतीकरण गरे।

प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता २०८२/०८३ को अर्धवार्षिक अवधिका प्रमुख उपलब्धिहरू, कार्यसम्पादन सम्झौता कार्यान्वयनका चुनौतीहरू, प्रगति प्रतिवेदनमा देखिएका समस्याहरू तथा कार्यसम्पादन सम्झौता कार्यान्वयनमा सुधार गर्नुपर्ने क्षेत्रहरू समेटिएका थिए।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो। साथै सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्