नेभिगेशन
नेपाल प्रहरी

६० लाख लुट घटना: पूर्व हवल्दारसहित थप २ पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो

काठमाडौं । काठमाडौंमा सस्तो मूल्यमा बिलसहित सुन उपलब्ध गराइदिने प्रलोभन देखाएर ६० लाख रुपैयाँ लुट्ने घटनामा संलग्न थप दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतका पूर्व प्रहरी हवल्दार रमेशबहादुर बुढा र इलामका दीपक राई रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी रामेश्वर कार्कीका अनुसार आरोपितहरूले पीडितलाई माघ १४ गते कीर्तिपुरस्थित एबीगाडो क्याफेमा बोलाई रकम लुटेका थिए। ‘सस्तो दरमा सुन पाइन्छ’ भन्दै उनीहरूले भेटघाटको व्यवस्था गरी योजनाबद्ध रूपमा रकम हत्याएका थिए।

यस प्रकरणमा यसअघि विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत हवल्दार कर्णबहादुर सुनुवारसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको थियो। पक्राउ परेकामध्ये काभ्रेको रोशी गाउँपालिका–१० घर भई सूर्यविनायक बस्ने २७ वर्षीय दीपक आले मगर, रसुवाका ३२ वर्षीय विक्रम तामाङ र नुवाकोटको ककनी गाउँपालिकाका २८ वर्षीय जीवन तामाङ रहेका छन्।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार लुटपाटको योजना पूर्व हवल्दार बुढाले बनाएका थिए। बुढा यसअघि खैरो हेरोइन सम्बन्धी मुद्दामा दोषी ठहर भई १० वर्ष जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। सीआरएस अभिलेखअनुसार उनी २०६९ सालमा कारागार गएका थिए।

पक्राउ परेका दीपक राई पनि विगतमा चोरी मुद्दामा समातिएका र हाल अदालतमा मुद्दा खेपिरहेका अभियुक्त रहेको प्रहरीले जनाएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्