नेभिगेशन
नेपाल प्रहरी

वैदेशिक रोजगारीका नाममा लाखौं ठगी गर्ने ४ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने झापा अर्जुनधारा नगरपालिका–६ घर भएका ५१ वर्षीय धर्म प्रसाद राई, काठमाडौं तारकेश्वर नगरपालिका–७ बस्ने ३५ वर्षीया निमा डोल्मा लामा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने झापा अर्जुनधारा नगरपालिका–५ घर भएका ४२ वर्षीय गोविन्द प्रसाद निरौला र काठमाडौं महानगरपालिका–१३ बस्ने गोरखा गण्डकी गाउँपालिका–१ घर भएका ४३ वर्षीय सुरज बहादुर श्रेष्ठ रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले पीडितहरूको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार धर्म प्रसाद राईले अष्ट्रिया पठाइदिने भन्दै एक जना पीडितबाट ५ लाख ८५ हजार रुपैयाँ, निमा डोल्मा लामाले बेलायत पठाइदिने भन्दै दुई जना पीडितबाट ५० लाख रुपैयाँ, गोविन्द प्रसाद निरौलाले टर्की पठाइदिने भन्दै दुई जना पीडितबाट २ लाख ३ हजार रुपैयाँ तथा सुरज बहादुर श्रेष्ठले रोमानिया पठाइदिने भन्दै दुई जना पीडितबाट ७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।

प्रहरीले धर्म प्रसादलाई काठमाडौं महानगरपालिका–२६, निमालाई काठमाडौं महानगरपालिका–६, गोविन्द प्रसादलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ र सुरज बहादुर श्रेष्ठलाई काठमाडौं महानगरपालिका–२६ बाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्