काठमाडौं । नेपाल प्रहरी प्रमुख (आईजीपी) दानबहादुर कार्कीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन देशव्यापी सुरक्षा संयन्त्र कडा बनाइएको बताएका छन्। निर्वाचन सुरक्षाबारे जानकारी दिँदै उनले मतदाता, उम्मेदवार वा मतदान प्रक्रियामा अवरोध पुर्याउने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेका छन् ।
उनका अनुसार गृह मन्त्रालयको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग सम्मिलित एकीकृत सुरक्षा योजना कार्यान्वयनमा छ। चारवटै निकायबीच सूचना आदान–प्रदान, जोखिम विश्लेषण र सम्भावित चुनौतीको मूल्यांकन गर्दै समन्वित रूपमा परिचालन भइरहेको उनले बताए।
देशभरका मतदान केन्द्रमा सुरक्षाकर्मी खटाइसकिएको जानकारी दिँदै कार्कीले हिमाली तथा दुर्गम जिल्लामा विशेष सतर्कता अपनाइएको उल्लेख गरे। मौसमको अवस्थाबारे मौसम पूर्वानुमान महाशाखासँग निरन्तर समन्वय भइरहेको र अत्यधिक चिसो हुने क्षेत्रमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीको स्वास्थ्य सुरक्षामा ध्यान दिइएको उनले बताए। दुर्गम स्थानमा निर्वाचन सामग्री, जनशक्ति र सुरक्षाकर्मी पुर्याउन आवश्यक स्थानमा हेलिकप्टर प्रयोगको व्यवस्था मिलाइएको छ।
मौन अवधिमा आचारसंहिता पालना गर्न राजनीतिक दल, उम्मेदवार र समर्थकलाई आग्रह गर्दै उनले सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउने वा उच्छृङ्खल गतिविधि गर्नेलाई तुरुन्त कानुनी दायरामा ल्याइने चेतावनी दिए। यस्ता गतिविधिमाथि निगरानी बढाइएको र आवश्यक परे एकीकृत रूपमा कारबाही अघि बढाइने उनले जनाए।
निर्वाचनको दिन मतदान केन्द्र वरपर कडा सुरक्षा घेरा रहनेछ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरको सुरक्षा संयोजन गरिने र पहिलो घेरामा नेपाल प्रहरी परिचालित रहने व्यवस्था छ। परिस्थिति जटिल बनेमा सशस्त्र प्रहरी र नेपाली सेना तत्काल परिचालन हुने तयारी गरिएको छ। बुथ कब्जा, मतदातामाथि दबाब वा मतदान अवरुद्ध गर्ने प्रयास भए कानुनअनुसार बल प्रयोग गर्न सुरक्षाकर्मीलाई अधिकार दिइएको उनले स्पष्ट पारे।
अन्त्यमा, आईजीपी कार्कीले सबै मतदातालाई ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आह्वान गर्दै घरदेखि मतदान केन्द्रसम्मको सुरक्षा प्रबन्ध सुनिश्चित गरिएको बताए। लोकतान्त्रिक अधिकारको प्रयोग गर्न निर्धक्क रूपमा अघि बढ्न उनले आग्रह गरेका छन्।