नेभिगेशन
अदालत

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर

काठमाडौं ।नेकपा एमालेका सचिव महेश बस्नेत विरुद्ध अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर भएको छ। बुधबार दर्ता भएको उक्त मुद्दाको सुनुवाइ आगामी १ चैत, आइतबार का लागि तोकिएको छ।

अधिवक्ता लवन न्यौपाने ले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बस्नेतले केही समयअघि दिएको सार्वजनिक अभिव्यक्तिले न्यायालयको गरिमा घटाउने काम गरेको दाबी गरिएको छ। उनले ११ माघ मा प्रेस चौतारी नेपालले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा दिएको भनाइलाई आधार बनाउँदै अदालतको अवहेलना भएको आरोप लगाएका हुन्।

रिट निवेदन अनुसार सो कार्यक्रममा बस्नेतले प्रधानन्यायाधीशसहित न्यायाधीशहरू विभिन्न कारणले जिम्मेवारीबाट पन्छिने, न्यायिक प्रक्रिया ढिलाइ गर्ने वा दबाब तथा प्रलोभनमा पर्ने जस्ता टिप्पणी गरेका थिए। यस्ता अभिव्यक्तिले न्यायालयमाथि अविश्वास सिर्जना गर्ने र अदालतको प्रतिष्ठामाथि असर पर्ने दाबी निवेदकको छ।

त्यसैगरी उनले देश वैदेशिक हस्तक्षेपको सामना गरिरहेको र सर्वोच्च, उच्च तथा जिल्ला अदालत मात्र होइन, समग्र न्याय प्रणाली नै प्रभावित भएको जस्ता टिप्पणी सार्वजनिक रूपमा गरेको पनि निवेदनमा उल्लेख गरिएको छ।

रिट निवेदक न्यौपानेले बस्नेतको उक्त अभिव्यक्ति अदालतको अवहेलना भएको भन्दै उनीमाथि कानुनी कारबाही गरी अधिकतम सजाय सुनाउन र न्यायपालिकाको प्रतिष्ठा कायम गर्न अदालतसँग माग गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्